विश्वकपमा ब्राजिलसँग जापान पराजित

964 Shares

विश्व - गाब्रिएल मार्टिनेलीले इन्जुरी समयको अन्तिम क्षणमा गरेको निर्णायक गोलको मद्दतमा ब्राजिलले जापानलाई २-१ ले पराजित गर्दै फिफा विश्वकपको‌ अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

ह्युस्टनमा भएको रोमाञ्चक प्रतिस्पर्धामा ब्राजिलले खेलको अन्तिम क्षणसम्म संघर्ष गर्नुपरेको थियो। अब ब्राजिलले जुलाई ५ मा न्युयोर्क–न्यु जर्सी स्टेडियममा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग क्वाटरफाइनलमा प्रवेशका लागि खेल्नेछ।

ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले खेलअघि आफ्ना खेलाडीलाई 'दिमाग, मुटु र स्पष्ट सोच' सहित खेल्न आग्रह गरेका थिए। जापानविरुद्ध पुनरागमन जित निकाल्न ब्राजिललाई यी तीनै कुराको आवश्यकता पर्‍यो।

खेलको २९औं मिनेटमा जापानले अग्रता लियो। ब्राजिलको कमजोर पासलाई बीचमै नियन्त्रणमा लिएका काइशु सानोले डिफेन्सले खाली छाडेको ठाउँको फाइदा उठाउँदै दायाँ खुट्टाले उत्कृष्ट प्रहारमार्फत आफ्नो अन्तर्राष्ट्रिय करियरको पहिलो गोल गरे।

दोस्रो हाफमा ब्राजिलले लगातार दबाब बढायो। केही अवसर गुमाएपछि ५६औं मिनेटमा गाब्रिएल मागाल्हाएसको सटिक क्रसमा कासेमिरोले शक्तिशाली हेडर गर्दै खेल १-१ को बराबरीमा ल्याए।

बराबरी गोलको केही मिनेटपछि भिनिसियस जुनियरले ब्राजिललाई अग्रता दिलाउने अवसर पाए। तर जापानी गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट बचाउ गरे भने अर्को प्रहार पोस्टमा लाग्दा ब्राजिल निराश बन्न पुग्यो।

तर ब्राजिलको आक्रमण अन्तिमसम्म जारी रह्यो। इन्जुरी समयको पाँचौं मिनेटमा ब्रुनो गिमारेसको पासमा मार्टिनेलीले सुजुकीलाई बिट गर्दै निर्णायक गोल गरे । जसले गर्दा ह्युस्टन रंगशालामा उपस्थित ब्राजिली समर्थकहरू उत्सवमा डुबे।

यो जितसँगै ब्राजिलको कीर्तिमानी छैटौं विश्वकप उपाधिको अभियान जारी रहेको छ। जापान भने विश्वकपको नकआउट चरणमा पहिलो जित निकाल्ने लक्ष्य पूरा गर्न असफल रह्यो।

 मार्टिनेलीले ब्राजिलका लागि गरेको पाँचौं अन्तर्राष्ट्रिय गोल हो। उनका ५ गोलमध्ये ३ गोल अमेरिकाको भूमिमा भएका हुन् ।

सम्बन्धित समाचार