विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु नेपाली समयअनुसार भोलि बिहानदेखि सुरु हुँदैछन् । आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने ३२ टोलीको टुङ्गो लागिसकेकाले नकआउट चरणको खेल सुरु हुन लागेको हो ।
नकआउट चरणको पहिलो खेलमा भोलि बिहान पौने एक बजे दक्षिण अफ्रिका र क्यानडा खेल्दैछन् । खेल अमेरिकाको लस एन्जलस रङ्गशालामा हुनेछ । समूह चरणमा मेक्सिकोसँग २–० गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग १–१ को बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई १–० गोलले हराएर नकआउटमा प्रवेश गरेको हो ।
जारी विश्वकपको सह–आयोजक क्यानडाले पहिलो खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग एक–एक गोलको बराबरी खेल्यो । दोस्रो खेलमा कतारलाई ६–० गोलले पराजित गरेको क्यानडा अन्तिम खेलमा स्विट्जरल्यान्डसँग २–१ गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो ।
भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आ–आफ्नो देशको इतिहासमा पहिलोपटक विश्वकप नकआउट खेल खेल्दैछन् । जुन टोलीले जित्छ, उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट जित हासिल गर्नेछ ।