काठमाण्डाै – लगातार चार कारोबार दिन घटेको शेयर बजार आज केही सम्हालिएको छ । शेयर बजार परिसूचक नेप्से आज ०.०८ अङ्कले बढेर २ हजार ७०५ दशमलव ५३ विन्दुमा रहेको छ ।
आज विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेका छन् । आज १२५ वटा कम्पनीका शेयर बढेकामा १३२ वटाको घटेका छन् । यस्तै १४ वटा कम्पनीको शेयर भने घटबढ भएका छैनन् ।
आज सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ । बजार खासै घटबढ नभएको दिन एनएमबी डिबेन्चर ८ दशमलव ६४ प्रतिशतले घटेको छ ।
नेप्से स्थिर भए पनि काराेबार रकम भने घटेको छ । हिजो ४ अर्ब ४ करोडको कारोबार भएकोमा आज ३५२ वटा कम्पनीका ८३ लाख ७५ हजार कित्ता शेयर ३ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको छ ।