काठमाण्डाै – कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षको अहिलेसम्म ५ लाख ५८ हजार मेट्रिक टनभन्दा धेरै रासायनिक मल आपूर्ति भइसकेको दाबी गरेको छ ।
राष्ट्रियसभाको आजकाे बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै कृषिमन्त्री गीता चौधरीले यस्तो दाबी गर्नुभएको हो । उहाँकाअनुसार ५ लाख ५८ हजार ५२२ मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानलाई वितरण गरिएकाे छ ।
अहिले १ लाख ३८ हजार ८०२ मेट्रिक टन मल मौज्दात रहेको र चालू आर्थिक वर्षको असार मसान्तसम्म झन्डै ६ लाख मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको उहाँको भनाइ छ ।
मन्त्री चाैधरीले आउँदो धान बालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताउनुभयो । साउनसम्म झन्डै ९० हजार मेट्रिक टन मल भित्रिने सरकारको अनुमान छ ।