काठमाण्डाै – नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले सीमासम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरणप्रति आफ्नो दलको असहमति रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाकाे आजकाे बैठकमा नेता थापाले प्रधानमन्त्रीको घोषणा वा वक्तव्यको रक्षा परराष्ट्रमन्त्रीले गर्ने नभई प्रधानमन्त्री स्वयम् रोस्टममा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्नुभयो ।
प्रधानमन्त्रीले निरन्तर रूपमा संसद्को उपेक्षा र उपहास गरेको आरोप लगाउँदै थापाले यसलाई स्वेच्छाचारिता र अधिनायकवादको सङ्केतका रूपमा चित्रण गर्नुभयो । उहाँले प्रधानमन्त्रीको कार्यशैलीले देशलाई कुन दिशामा लैजान खोजिएको हो भनी प्रश्नसमेत गर्नुभयो ।
नेता थापाले संसदमा विद्यमान गतिरोध अन्त्यका लागि ३ वटा शर्त अघि सार्नुभएको छ । उहाँकाअनुसार प्रधानमन्त्रीले रोस्टममा आएर आफ्ना गल्तीहरू सच्याउनुपर्ने, सभामुखले विवादित अभिव्यक्तिबारे रुलिङ गर्नुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिले आफ्ना सदस्यलाई गल्ती स्वीकार गर्न निर्देशन दिनुपर्नेछ । यी मागहरू पूरा नभएसम्म राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र देशको गरिमाका निम्ति एमालेको सङ्घर्ष चलिरहेकाे उहाँकाे भनाइ छ ।