काठमाण्डाै – निर्वाचन आयोगले २०७९ को पालिका चुनावमा एमालेबाट जितेर पछि अन्य दलमा गएका ८ वडाध्यक्षको पद रिक्त घोषणा गरेको छ । एमाले सचिवालयको पत्रका आधारमा आयोगले यो निर्णय गरेको हो ।
पदमुक्त हुनेहरूमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ का वडाध्यक्ष कमलबहादुर बानिया, मोलुङ गाउँपालिका–६ का वडाध्यक्ष कमल तामाङ र ओखलढुङ्गाकै चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष सुरेशकुमार थापा रहनुभएको छ ।
यस्तै पाल्पाको माथागढी गाउँपालिका–१ का वडाध्यक्ष राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका–७ का वडाध्यक्ष होमप्रसाद बजगाईं, मोरङको लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, मोरङकै रङ्गेली नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार खनाल र दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मधुसुदन शर्माको पद पनि रिक्त भएको छ ।