पोखरा । पर्यटकीय राजधानीका रूपमा चिनिने पोखरामा सञ्चालित एक क्यासिनोमाथि गम्भीर प्रश्न उठेको छ। हल्लनचोकस्थित होटल रोम रिजेन्सी भित्र सञ्चालन भइरहेको क्यासिनोमा नेपाली नागरिकलाई खुलेआम प्रवेश गराएर जुवा खेलाउने गरिएको आरोप सार्वजनिक भएपछि यसको कानुनी, सामाजिक र प्रशासनिक पक्षमाथि बहस सुरु भएको छ।
प्राप्त सूचनाअनुसार सुरज श्रेष्ठ र रवीन्द्र श्रेष्ठको संयुक्त संलग्नतामा सञ्चालन भइरहेको उक्त क्यासिनोमा विगत करिब दुई महिनादेखि नेपाली नागरिकलाई सहज रूपमा प्रवेश गराइँदै आएको बताइएको छ। क्यासिनोमा विदेशी पर्यटकका लागि मात्र जुवा खेल्ने व्यवस्था भए पनि व्यवहारमा भने नेपाली नागरिक नै ठूलो संख्यामा पुग्ने गरेको स्थानीय स्रोतहरूको दाबी छ।
नेपालको कानुनी व्यवस्थाअनुसार नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराएर जुवा खेलाउन पाइँदैन। पर्यटनसँग सम्बन्धित क्यासिनो सञ्चालनको मूल उद्देश्य विदेशी पर्यटकलाई लक्षित मनोरञ्जन सेवा उपलब्ध गराउनु हो। तर आरोपअनुसार पोखराको उक्त क्यासिनोमा यही कानुनी व्यवस्थालाई खुला चुनौती दिइँदै आएको छ।
कानुनविद्हरूका अनुसार यदि कुनै क्यासिनोले नेपाली नागरिकलाई जुवा खेल्न प्रवेश गराएको प्रमाणित भए सम्बन्धित सञ्चालक, व्यवस्थापक तथा जिम्मेवार पक्षमाथि कारबाही हुन सक्छ। गम्भीर प्रकृतिको उल्लंघन देखिए सञ्चालन अनुमति अर्थात् लाइसेन्ससमेत खारेज हुन सक्ने व्यवस्था रहेको उनीहरू बताउँछन्। तर व्यवहारमा भने यस्ता कानुनी प्रावधान प्रभावकारी रूपमा कार्यान्वयन नभएको आरोप बारम्बार उठ्दै आएको छ।
क्यासिनो सञ्चालनसँगै यसको स्वामित्व र लगानी सम्बन्धी विवाद पनि सतहमा आएको छ। स्रोतहरूका अनुसार सुरज श्रेष्ठ र रवीन्द्र श्रेष्ठबीच लामो समयदेखि आर्थिक तथा सेयर स्वामित्व सम्बन्धी मतभेद रहँदै आएको छ। जानकार स्रोतका अनुसार सुरज श्रेष्ठले रवीन्द्र श्रेष्ठलाई २० प्रतिशत सेयर दिने आश्वासन दिएर व्यवसायमा ल्याएको आरोप छ। तर पछि उक्त सेयर उपलब्ध नगराइएपछि दुई पक्षबीच सम्बन्ध बिग्रिएको र विवाद चर्किएको बताइन्छ। यही विवादका क्रममा क्यासिनोभित्रका विभिन्न गतिविधि बाहिर आउन थालेको स्रोतहरूको भनाइ छ।व्यावसायिक साझेदारबीचको अविश्वासले क्यासिनो सञ्चालन प्रक्रियामै असर पारेको र व्यवस्थापन पक्षमा समेत विभाजन देखिन थालेको दाबी गरिएको छ। यद्यपि यस विषयमा दुवै पक्षबाट आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।
क्यासिनोसँग जोडिएको अर्को चासोको विषय भारतीय मूलका दुई व्यवसायीको भूमिका हो। पोखरामा लामो समयदेखि कवाडी संकलन तथा पुनर्चक्रण व्यवसाय गर्दै आएका सन्तोष जैसवाल र राजु जैसवालले क्यासिनोभित्रका टेबल सञ्चालन तथा व्यवस्थापनमा संलग्न रहेको आरोप स्रोतहरूले लगाएका छन्।स्थानीयहरूका अनुसार उनीहरू क्यासिनोका नियमित खेल सञ्चालन, खेलाडी व्यवस्थापन र आन्तरिक समन्वयमा सक्रिय देखिने गरेका छन्। अझ गम्भीर आरोप त के छ भने, नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराउने काममा समेत उनीहरूको भूमिका रहेको बताइन्छ।यिनै व्यक्तिहरूमार्फत स्थानीय खेलाडीहरूलाई क्यासिनोसम्म पु¥याउने, चिनजानका आधारमा प्रवेश गराउने तथा खेलमा सहभागी गराउने काम हुने गरेको आरोप स्रोतहरूले लगाएका छन्। यद्यपि यी आरोप स्वतन्त्र रूपमा पुष्टि भइसकेका छैनन्।
स्थानीय बासिन्दाहरूले उठाएको सबैभन्दा गम्भीर प्रश्न प्रहरी प्रशासनको भूमिकासँग सम्बन्धित छ। उनीहरूका अनुसार नेपाली नागरिक क्यासिनोमा प्रवेश गरेको सूचना पटक–पटक सम्बन्धित निकायसम्म पुगेको भए पनि प्रभावकारी छानबिन, निगरानी वा छापामारी भएको देखिएको छैन।“क्यासिनोमा नेपाली खेलिरहेको जानकारी सबैलाई छ, तर कारबाही गर्ने निकाय मौन छ,” एक स्थानीयले नाम नखुलाउने सर्तमा बताए।अर्का एक व्यवसायीका अनुसार पटक–पटक सूचना दिइए पनि त्यसको कुनै सुनुवाइ नभएको अनुभव छ। यसले कतै न कतै प्रभाव, पहुँच वा संरक्षणको आशंका जन्माएको उनीहरूको भनाइ छ।यदि सूचना प्राप्त हुँदाहुँदै पनि कारबाही नभएको हो भने त्यसले प्रशासनिक जवाफदेहिता र कानुनी शासनमाथि प्रश्न उठाउने कानुनविद्हरू बताउँछन्। उनीहरूका अनुसार आरोप सत्य भए प्रहरी र नियामक निकायको भूमिका पनि अनुसन्धानको विषय बन्न सक्छ।
पोखराका स्थानीयहरूका अनुसार पछिल्लो समय क्यासिनो तथा जुवाजन्य गतिविधिका कारण सामाजिक समस्या पनि बढ्दै गएका छन्। केही व्यक्तिले ठूलो रकम गुमाएर आर्थिक संकटमा परेको, व्यवसाय डुबेको तथा घरजग्गासमेत बेच्नुपरेको घटना सुनिन थालेको उनीहरूको दाबी छ।स्थानीय समाजसेवीहरूका अनुसार जुवाको लतले पारिवारिक सम्बन्ध बिग्रने, ऋणको बोझ बढ्ने र मानसिक तनाव सिर्जना हुने समस्या व्यापक बन्दै गएको छ। विशेष गरी सजिलै पैसा कमाउने भ्रममा परेका युवाहरू जुवातर्फ आकर्षित हुँदा यसको असर परिवार र समाज दुवैमा पर्ने गरेको उनीहरूको भनाइ छ।यद्यपि क्यासिनोका कारण कति नेपाली आर्थिक रूपमा प्रभावित भए भन्ने आधिकारिक तथ्यांक उपलब्ध छैन। तर स्थानीय तहमा यसबारे व्यापक गुनासो सुनिन थालेको अवस्था रहेको बताइन्छ।क्यासिनो सञ्चालनको अनुमति दिने, अनुगमन गर्ने तथा कानुनी मापदण्ड कार्यान्वयन गराउने जिम्मेवारी सम्बन्धित सरकारी निकायको हो। तर पोखराको यस घटनाले नियमन प्रणालीकै प्रभावकारितामाथि प्रश्न उठाएको छ।
स्थानीय सरोकारवालाहरूले होटल रोम रिजेन्सीस्थित क्यासिनो मात्र होइन, पोखराका अन्य क्यासिनोहरूको समेत संयुक्त अनुगमन गर्न माग गरेका छन्। उनीहरूका अनुसार नेपाली नागरिकको प्रवेश, आर्थिक कारोबार, कर तिर्ने प्रक्रिया तथा सञ्चालन अनुमति सम्बन्धी सम्पूर्ण पक्षको स्वतन्त्र छानबिन हुन आवश्यक छ।“यदि कानुन सबैका लागि समान हो भने क्यासिनो क्षेत्र पनि त्यसबाट बाहिर रहनु हुँदैन,” एक स्थानीय अगुवाले बताए।पोखरामा उठेको यो विवादले अब सम्बन्धित सरकारी निकाय, प्रहरी प्रशासन र पर्यटन क्षेत्रका नियामक संस्थाको ध्यान तानेको छ। स्थानीय नागरिक, व्यवसायी तथा सामाजिक अगुवाहरूले निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्।
आरोपहरू सत्य सावित भए कानुनअनुसार कडा कारबाही गर्नुपर्ने र दोषी जोसुकै भए पनि उन्मुक्ति दिन नहुने उनीहरूको भनाइ छ। त्यस्तै आरोप झुटो प्रमाणित भए भ्रम फैलाउने पक्षलाई समेत कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ।हालसम्म क्यासिनो सञ्चालक, आरोपित व्यक्तिहरू तथा सम्बन्धित निकायबाट यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। त्यसैले उठेका आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ। तर पोखराको पर्यटन छवि, कानुनी शासन र सामाजिक सुरक्षासँग जोडिएको यो विषयले गम्भीर ध्यान आकर्षित गरेको छ। अब प्रश्न एउटै छ, कानुनभन्दा माथि क्यासिनो चलिरहेको हो कि राज्य संयन्त्रले वास्तविकता पत्ता लगाएर आवश्यक कदम चाल्नेछ ?