दार्चुला– नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा उपसमितिको आयोजना तथा महाकाली नगरपालिकाको सहयोगमा सदरमुकाम खलङ्गामा रक्तदान उत्प्रेरणा तथा रक्त समूह पहिचान कार्यक्रम सञ्चालन गरिएको छ ।
‘म पनि रक्तदाता’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानअन्तर्गत आज खलङ्गास्थित पुलघाट र बसपार्क क्षेत्रमा रक्त समूह पहिचान तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
‘ल्याब असिस्टेन्ट’ करनसिंह धामीका अनुसार पुलघाटमा ८३ र बसपार्क क्षेत्रमा ५७ जनाको रक्त समूह पहिचान गरिएको छ । गत वैशाख १३ गतेदेखि दार्चुलामा रक्त सञ्चार केन्द्र स्थापना भएपछि त्यसलाई प्रभावकारी रूपमा सञ्चालनका लागि अभियान सुरु गरिएको उनले बताए।
रक्त सञ्चार उपसमितिका सदस्य कृष्णसिंह धामीले आमनागरिकमा रक्तदानप्रति सकारात्मक भावना जागृत गराउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
‘अझै पनि धेरै नागरिकमा रक्तदान गर्नुपर्छ भन्ने चेतना विकास हुन सकेको छैन । गत बैशाखमा स्थापना गरिएको रक्त सञ्चार केन्द्रमा नियमित रगत आपूर्ति सुनिश्चित गर्न र आवश्यक पर्दा बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो’ , उनले भने।
अभियानअन्तर्गत दार्चुला बहुमुखी क्याम्पस, महेन्द्र मावि खलङ्गा र मालिकार्जुन मावि धापमा रक्त समूह पहिचान कार्यक्रम सञ्चालन गरिने रक्त सञ्चार उपसमितिका सदस्य भूपेन्द्र विष्टले जानकारी दिए । रक्त समूह पहिचान गरिएका व्यक्तिलाई रक्तदान अभियान समूहमा आबद्ध गराइनेछ ।
हाल जिल्ला अस्पतालमा रगत आवश्यक पर्दा सोही समूहमार्फत रक्तदाताको खोजी गर्ने गरिएको छ । उक्त समूहमा हालसम्म तीन सय ३३ जना आबद्ध भइसकेका छन् । नेपाल रेडक्रस सोसाइटीका सभापति गोपालसिंह महराले महाकाली नगरपालिकाको समन्वयमा चालु आर्थिक वर्षमा रक्त सञ्चार केन्द्र व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताए।