काठमाण्डाै – सरकारले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिनुभएको स्पष्ट पारेको छ । संसद् बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि थुप्रै ठाउँमा भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनुभएको थियो ।
आज सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता एवम् युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको सीमा मिचिएको कुरा राख्दा भारत–नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको बताएको र त्यसबारे प्रधानमन्त्रीले आफू आश्चर्य भएको बारेमा कुरा राख्नुभएको बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘प्रधानमन्त्रीज्यूले सीमा विवादसम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा आफू अचम्मित परेको बताउनुभएको हो । उहाँले सदनमा पनि यही प्रसङ्ग उल्लेख गर्नुभएको थियो । यस विषयमा परराष्ट्र मन्त्रालयले समेत आफ्नो स्पष्टीकरण दिइसकेको छ । कतिपय ठाउँमा भारतले उपभोग गरिरहेको भूमि नेपालतर्फ पर्न सक्ने र नेपालले उपभोग गरिरहेको भूमि भारततर्फ पर्न सक्ने भन्ने विषय ती संयन्त्रहरूबाट उठेका छन् । यस्ता विषयमा दुई देश बसेर आपसी छलफलमार्फत विवाद समाधान गर्नुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको धारणा हो । प्रधानमन्त्रीज्यूले विवाद सिर्जना हुने खालको कुनै अभिव्यक्ति दिनुभएको होइन । उहाँले यस्तो कुरा आउँदा म अचम्मित परेँ भन्ने सन्दर्भमा मात्र आफ्नो धारणा व्यक्त गर्नुभएको हो ।’
प्रवक्ता पोखरेलले प्रधानमन्त्री शाह सरकारप्रति उत्तरदायी रहनुभएको पनि बताउनुभयाे । प्रधानमन्त्रीले आइतवार सदनमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुभएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिने उहाँकाे भनाइ छ ।