काठमाण्डौ सम्मेलनबाट दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय

993 Shares

काठमाण्डौ – काठमाण्डौमा सम्पन्न पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय गरेको छ । जेठ १२ देखि हिजोसम्म आयोजित सम्मेलनमा ४० देशका एक सयभन्दा बढी पशुपालक महिलाको सहभागिता रहेको थियो ।

सम्मेलनले अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जुध्ने क्षमता अभिवृद्धि र विश्वव्यापी पशुपालक महिला सञ्जाल गठनको निर्णय गर्दै ‘काठमाण्डौ घोषणापत्र’को मस्यौदा तयार पारेको छ । यस घोषणापत्रमा भूमि तथा प्राकृतिक स्रोतमा अधिकार, राजनीतिक सहभागिता, परम्परागत ज्ञानको मान्यता र जलवायु न्यायलाई साझा प्राथमिकताका रूपमा समेटिएको छ ।

इसिमोडको समन्वयमा भएको यो सम्मेलन अन्तर्राष्ट्रिय चरनभूमि तथा पशुपालक वर्ष २०२६ को महत्त्वपूर्ण उपलब्धि मानिएको छ । सम्मेलनले तय गरेका एजेन्डालाई संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत गर्ने इसिमोडले जनाएको छ । चरनभूमिले पृथ्वीको झन्डै आधा भू–भाग ओगटेको छ र नेपालमा पनि झन्डै २२ प्रतिशत चरनभूमि छ ।

विश्वभरका पशुपालक जनसङ्ख्याको आधा हिस्सा महिला तथा किशोरीको रहेको छ, जो भूमि संरक्षण, खाद्य सुरक्षा र परम्परागत ज्ञान हस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । तर असुरक्षित भूमि अधिकार, सीमित राजनीतिक प्रतिनिधित्व र जलवायु परिवर्तनको असमान असर अझै उनीहरूका प्रमुख चुनौती बनिरहेका छन् । 

सम्बन्धित समाचार