काठमाण्डाै – काभा महिला भलिबल च्याम्पियनशिपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भयो । भारतले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र चौथो सेट २५–२२ ले जित्यो । नेपालले तेस्रो सेट २५–१५ ले जित्यो ।
योसँगै भारतले तेस्राे स्थानमा रहेर कांस्य पदक जितेको छ । नेपाल चाैथाे स्थानमा रह्याे । घरेलु मैदानमा आयाेजना भएका पछिल्ला ३ प्रतियाेगितामा नेपाल पहिलो पटक पदकविहीन भएको हो ।
प्रतियोगिताको उपाधिका लागि अहिले दिउँसो साढे ४ बजे इरान र काजकिस्तान खेल्दैछन् । हिजो भएको सेमिफाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
प्रतियोगितामा ८ वटा टोली सहभागी थिए । समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स तथा समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका थिए ।