काठमाण्डौ – अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतमा हुने साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताका लागि नेपालको टोली घोषणा गरेको छ । एन्फाले साफ च्याम्पियनशिप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनोट गरेको अन्तिम टोलीमा दुई खेलाडीले पहिलोपटक स्थान बनाएका छन् भने तीन जना खेलाडीले पुनरागमन गरेका छन् । अनिता लम्जेल र बिर्सना चौधरी पहिलोपटक समेटिएका हुन् ।
यस्तै गीता राना, सविना चौधरी, अनिता केसीले टोलीमा पुनरागमन गरेका छन् । नियमीत खेलाडी सरस्वती हमाल र मनमाया दमाईं बाहिरिएका छन् । भारतको गोवामा हुने साफ च्याम्पियनशिपमा नेपाल समूह ‘ए’मा छ । यो समूहमा श्रीलंका र भुटान छन् ।
समूह ‘बी’मा साबिक विजेता बङ्गलादेश, भारत र मालदिभ्स रहेका छन् । साफ च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले जेठ ११ गते भुटानसँग खेल्नेछ ।