काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।
विक्रम संवत २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने संस्थापक नेताहरुमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए । नेकपाको स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगायतका नेताहरु पनि जोडिएका थिए ।
नेपालमा जहानियाँ राणा शासन चलिरहेका बेला भूमिगत रुपमा स्थापना भएको नेकपाले सामान्तवाद, दलाल–नोकरशाही पुँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लिएको थियो ।
स्थापनाको ८ दशक पुग्न लाग्दा पटकपटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाए पनि श्रृंखलावद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले कम्युनिष्ट आन्दोलन धरापमा परेको टिप्पणी हुँदै आएको छ ।
नेकपा स्थापना दिवसको अवसरमा नेकपा एमालेले आज विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे सुरु हुने विशेष कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्माले सम्बोधन गर्ने तयारी रहेको छ ।