अमेरिका र इरानको वार्ता असफल, अमेरिकी प्रतिनिधिमण्डल इस्लामावादबाट बाहिरियो

2.9k Shares

काठमाडौं । पाकिस्तानको इस्लामावादमा भएको अमेरिका र इरानबीचको वार्ता नमिलेपछि अमेरिकाका उपराष्ट्रपति जेडी भान्स अमेरिका फर्किएका छन् ।
अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामावादबाट अमेरिका गएका हुन् ।
बीबीसीका अनुसार, उनीहरू आफ्नो एयर फोर्स टु विमानमार्फत प्रस्थान गरेका हुन् र अमेरिका फर्किरहेका छन् । पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले अमेरिकी प्रतिनिधिमण्डल त्यहाँबाट अमेरिका फर्किएको उल्लेख गरेको छ ।
इस्लामावादबाट उडान भर्नुअघि जेडी भान्सले एक पत्रकार सम्मेलनमा करिब २१ घण्टा चलेको वार्तापछि पनि अमेरिका र इरान कुनै सम्झौतामा पुग्न नसकेको बताए । यस वार्तालाई लिएर इरानको तर्फबाट पनि भनाइ सार्वजनिक भएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिका आफ्नो ‘अत्यधिक मागहरू’ बाट पछि हट्नुपर्ने बताएका छन् ।
इरानी प्रतिनिधिमण्डलसँग नजिक रहेको एक स्रोतले फार्स समाचार एजेन्सीलाई बताएअनुसार अमेरिका वार्ताको टेबल छोड्ने बहाना खोजिरहेको थियो । ‘अमेरिकीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा गुमेको आफ्नो साख जोगाउन यो वार्ता चाहिएको थियो र इरानसँगको युद्धमा हार र गतिरोधका बावजुद उनीहरू आफ्ना अपेक्षाहरू घटाउन तयार थिएनन्,’ अलजजिराले स्रोतको हवाला दिंदै भनेको छ । ‘इरानको अर्को चरणको वार्ताका लागि अहिले कुनै योजना छैन,’ उनीहरूले थपे।

सम्बन्धित समाचार