देउवा पक्षलाई गगनको सन्देश : मैले हाँकेको गाडी अघि बढिसक्यो, यदि कोही छुट्छ भने त्यो मेरो कुरा होइन
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन् । उनले पूर्व सभापति शेरबहादुर देउवा पक्षलाई पार्टीमा समेटिएर अघि बढ्न आग्रह गरेका छन्।
सानेपास्थित केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकमा बोल्दै थापाले आफू सभापतिका रूपमा पार्टीको ‘गाडी हाँकिरहेको’ उल्लेख गर्दै अब पार्टी अघि बढिसकेको र रोकिने अवस्था नरहेको स्पष्ट पारे।
‘यो गाडी अघि बढिसक्यो, अब रोकिन्न। सबैलाई समेटेर लैजान्छौँ, तर कोही आफैं छुट्न खोज्छ भने त्यो मेरो कुरा होइन,’ उनले देउवा पक्षलाई लक्षित गर्दै भने। पछिल्लो समय देउवा पक्षले समानान्तर गतिविधि अघि बढाएको छ । देउवा सिंगापुरबाट फर्किएपछि पन्ध्रौँ महाधिवेशन तालिका ल्याउने चर्चाबीच थापाको यो भनाइ आएको हो ।
थापाले विशेष महाधिवेशनपछि केही नेताहरूमा असन्तुष्टि देखिएको स्वीकार गर्दै संवादमार्फत सबैलाई समेट्ने प्रयास गर्ने बताए। उनले उम्मेदवार चयन प्रक्रियामा कुनै पूर्वाग्रह नराखिएको दाबी गरे।उनले छोटो समयमा १६५ जना उम्मेदवार चयन गर्दा केही असन्तुष्टि स्वाभाविक भए पनि निर्णय पार्टीको हितमा गरिएको बताए ।