सुर्खेतमा १६ वर्षीया किशोरीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन भएको छ।
प्रहरीले घटनामा संलग्न चार जना नाबालक किशोरहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
किशोरीको मृत्युको कारणबारे अनुसन्धान जारी छ, पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ।
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका—४ को जनजागरण सामुदायिक वनमा मृत्यु भएकी १६ वर्षीया इनिसा विक मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पीडित पक्षधरहरूले आन्दोलन गरेका छन् ।
बुधबार वीरेन्द्रनगरमा ‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’ जस्ता नारासहित उनीहरुले दबाबमूलक आन्दोलन गरेका हुन् । यद्यपि,प्रहरीले घटनामा संलग्न चार जना नाबालक किशोरहरूलाई यस अघि नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीय इनिसा शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् ।
तर बिहान ९ बजेतिर वीरेन्द्रनगर बजारको उत्तरतर्फ गर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे ।
सोही दिन प्रहरीले १६ वर्षीय बालकलाई नियन्त्रणमा लिएको थियो । पीडित पक्षले फागुन २४ गते दिएको उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अन्य १५, १६ र १७ वर्षीय बालकहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।
मृतक बालिका वीरेन्द्रनगरको उषा बालबाटिकामा कक्षा ११ मा अध्ययनरत थिइन् । प्रहरीलाई आफन्तहरूले भने अनुसार इनिसा २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । तर उक्त दिन शनिबार हो ।
अर्को उनी पढ्ने विद्यालय र इनिसा बेहोस अवस्थामा भेटिएको स्थान निकै टाढा छ । स्कुलभन्दा उत्तरतर्फ करिब १० किलोमिटर दुरीमा पर्ने उक्त जङ्गलमा इनिसा रक्ताम्मे अवस्थामा भेटिएकी थिइन् । ट्युसन पढ्न भन्दै बिहान ६ बजेतिरै घरबाट निस्किएकी ती किशोरी जङ्गलसम्म पुग्नुका पछाडि ती १६ वर्षीया युवकसँग प्रेम सम्बन्ध भएर हो कि भन्ने आशङ्का प्रहरीले गरेको छ ।
ती युवकले पनि अनुसन्धानका क्रममा प्रेम सम्बन्ध रहेको खुलाएको एक अनुसन्धान अधिकृतले बताएका छन् । ‘घर परिवारले ट्युसन पढ्न गएको भनिए पनि पक्राउ परेका १६ वर्षीय किशोरले मर्निङ वाक गर्न गएको भनेका छन्,’ ती अनुसन्धान अधिकृतले भने ।
मर्निङ वाक जाने बहानामा उनीहरुले जबरजस्ती करणी गरी हत्या गरेको आशङ्का प्रहरीले गरेको छ । यद्यपि घटनाबारे अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै छ । मृतकका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै दोषीहरूलाई कारबाहीको माग गरेका छन् । शवको पोस्टमार्टम प्रदेश अस्पताल सुर्खेतमा भए पनि सद्गत भने गरिएको छैन।