९८ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई स्वास्थ्य मन्त्रालयको आग्रह

3.4k Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधि पूर्ण रूपमा स्वदेशमै उत्पादन गर्न नेपाली औषधि उद्योगीहरूलाई आग्रह गरेको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले ललितपुरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका नीति, योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले स्वदेशी उद्योगहरूले यसलाई सामाजिक उत्तरदायित्वका रूपमा लिएर उत्पादन र आपूर्तिमा सहजीकरण गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार हाल नेपालको आन्तरिक उत्पादनले कुल मागको करिब ४० देखि ५० प्रतिशत मात्र धानिरहेको छ । स्वदेशी उद्योगहरूले उत्पादन क्षमता बढाएर बाहिरबाट आयात हुने औषधिलाई प्रतिस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्रालयले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर खरिद गर्न चाहेको स्पष्ट पार्दै दासले मूल्य र गुणस्तरमा भने उद्योगीहरूले सम्झौता गर्न नहुने बताए ।

उनले भने, “हामीलाई सस्तो, गुणस्तरीय र पर्याप्त औषधि चाहिएको छ । पहिलो चरणमा सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधि स्वदेशी उद्योगले नै उत्पादन गरिदिउन् भन्ने मन्त्रालयको चाहना छ । यसले स्थानीय गाउँ तहसम्म सर्वसुलभ रूपमा औषधि पुर्‍याउन सहयोग गर्छ । अहिले ४०–४५ वटा औषधि मात्र आफैं बनाउन सक्छौँ भनेर बस्ने होइन, क्षमता विस्तार नगरी बाहिरबाट आउने औषधिलाई प्रतिस्थापन गर्न सकिँदैन ।”

सामाजिक उत्तरदायित्व वहन गर्दै सुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराए राज्यले उद्योगीहरूलाई पूर्ण सहयोग गर्ने उनले बताए ।

नेपाली औषधि उद्योगहरूले उत्पादन गरेका औषधिको गुणस्तर राम्रो हुँदाहुँदै पनि बजारमा ‘गुणस्तरहीन’ भन्ने भ्रम फैलिएको भन्दै दासले चिन्ता व्यक्त गरे । यस्तो भ्रम र हल्ला चिर्न प्रभावकारी सञ्चार र एड्भोकेसी आवश्यक रहेको उनको भनाइ छ ।

उद्योगीहरूले आफ्ना उत्पादन गुणस्तरीय रहेको दाबी गर्ने र मन्त्रालयले पनि स्वदेशी औषधि खरिद गर्ने तर बाहिर भने सरकारी निकायले किनेका औषधि गुणस्तरहीन छन् भन्ने हल्ला चल्ने गरेकोतर्फ दासले ध्यानाकर्षण गराए ।

विपद्को समयमा प्रयोग हुने ‘रिस्क कम्युनिकेसन एण्ड कम्युनिटी इन्गेजमेन्ट’ मोडल जस्तै औषधिको गुणस्तरका विषयमा पनि जनतालाई सुसूचित गर्नुपर्ने उनले बताए । स्वदेशी औषधिको गुणस्तरबारे जनतालाई स्पष्ट पार्न सके मन्त्रालय र उत्पादक दुवैलाई फाइदा पुग्ने उनको भनाइ छ ।

उनले भने, “हामी गुणस्तरीय औषधि उत्पादन गर्छौं भन्छौं, आपूर्ति महाशाखाले किन्छ पनि, तर बाहिर गुणस्तरहीन औषधि किनियो भन्ने कुरा आउँछ । यस्तो किन भइरहेको छ ? पक्कै पनि हाम्रो सञ्चार र एड्भोकेसी पुगेन । रुमरलाई न्यूनीकरण गर्न सञ्चार बलियो बनाउनैपर्छ । यसले स्वदेशी उत्पादनप्रति जनताको विश्वास बढाउँछ र उद्योगलाई पनि फाइदा हुन्छ ।”

मन्त्रालयले नेपाली औषधि उद्योगहरूलाई बजारको अभाव नरहेको भन्दै उत्पादन बढाउन आग्रह गरेको छ । हाल सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रम नै औषधिको सबैभन्दा ठूलो खपतकर्ता भएको भन्दै उत्पादित औषधि सहजै खपत हुने दासले बताए ।

स्वदेशी उद्योगहरूले उत्पादन बढाए बजार नपाउने समस्या नरहेको स्पष्ट पार्दै उनले आन्तरिक माग पूरा भएपछि बाँकी औषधि विदेश निर्यात गर्न सकिने र यसले राज्यको अर्थतन्त्र बलियो बनाउन सहयोग पुग्ने बताए ।

सम्बन्धित समाचार