बर्दिबासमा प्रहरी संरक्षणमा गैरकानुनी धन्दा ?

4.1k Shares

मी बर्दिबासमा क्रियाशील विभिन्न स्थानीय क्लव तथा ‘जेनजी’ समूहका युवाहरूको तर्फबाट यो पत्र लेखिरहेका छौं। हाम्रो उद्देश्य कसैलाई अनावश्यक आरोप लगाउनु होइन, बरु समुदायको सरोकारसँग जोडिएको गम्भीर विषयलाई सार्वजनिक बहसमा ल्याउनु हो। यदि कुनै कुरा गलत छ भने त्यसको निष्पक्ष छानबिन होस्, यदि सत्य हो भने सुधार होस्—हाम्रो चाहना यत्ति मात्र हो।
बर्दिबास, बर्दिबास, पछिल्लो समय तीव्र शहरीकरणतर्फ उन्मुख सहर हो। व्यापार, यातायात र सीमावर्ती आवागमनका कारण यहाँ आर्थिक गतिविधि बढेका छन्। तर, यससँगै केही यस्ता गतिविधिहरू पनि मौलाएका छन्, जसले हाम्रो समाजको नैतिक, कानुनी र सामाजिक संरचनामाथि गम्भीर प्रश्न उठाएका छन्।
हामीलाई प्राप्त सूचनाअनुसार बर्दिबासमा सञ्चालित दुईवटा डान्सबार रातभर सञ्चालन हुने गरेका छन्। स्थानीयबासीका भनाइअनुसार ती प्रतिष्ठानहरू प्रायः बिहान ४–५ बजेसम्म खुला रहन्छन्। नेपालको प्रचलित कानुन र स्थानीय प्रशासनले तोकेको समयसीमा विपरीत यसरी रातभर व्यवसाय सञ्चालन हुनु आफैंमा प्रश्नको विषय हो। अझ चिन्ताजनक कुरा के छ भने, ती डान्सबारका कर्मचारीहरू नै मासिक रूपमा प्रहरीलाई ठूलो रकम बुझाइने गरेको दाबी गर्छन्। यदि यो आरोप सत्य हो भने, यसले कानून कार्यान्वयन गर्ने निकायप्रतिको जनविश्वासलाई गम्भीर रूपमा क्षति पु¥याउँछ।
यसैगरी, बर्दिबास क्षेत्रमा करिब ११ वटा स्पा तथा मसाज सेन्टर सञ्चालनमा रहेको जानकारी छ। तीमध्ये अधिकांशमा अवैध र अनैतिक गतिविधि हुने गरेको व्यापक जनगुनासो छ। कतिपय स्थानहरूमा यौन व्यवसाय जस्ता गैरकानुनी क्रियाकलाप हुने गरेको स्थानीयबासीहरू बताउँछन्। यदि प्रहरी प्रशासनलाई मासिक रकम बुझाएर यस्ता गतिविधि सञ्चालन भइरहेका छन् भन्ने आरोपमा सत्यता छ भने, यो केवल स्थानीय समस्या मात्र नभई राष्ट्रिय लज्जाको विषय बन्न सक्छ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई कानुनको समान संरक्षणको हक सुनिश्चित गरेको छ। नेपाल प्रहरी को मूल दायित्व शान्ति–सुरक्षा कायम गर्नु, अपराध रोक्नु र कानुनको शासन स्थापित गर्नु हो। तर यदि प्रहरीकै संरक्षणमा गैरकानुनी गतिविधि सञ्चालन भइरहेको छ भन्ने जनधारणा बलियो हुँदै गइरहेको छ भने, त्यो अत्यन्त खतरनाक संकेत हो।हामीले बुझ्नुपर्ने कुरा के हो भने, डान्सबार वा स्पा व्यवसाय आफैंमा अवैध होइनन्। कानुनी प्रक्रिया पूरा गरी, निर्धारित समयसीमा र आचारसंहिता पालना गरेर सञ्चालन गरिएका व्यवसायले कर तिर्छन्, रोजगारी दिन्छन् र अर्थतन्त्रमा योगदान पु¥याउँछन्। समस्या तब उत्पन्न हुन्छ जब कानुन मिचेर, स्थानीय प्रशासनलाई चुनौती दिँदै, कथित ‘सेटिङ’ का आधारमा गतिविधि सञ्चालन गरिन्छ।
बर्दिबास सीमावर्ती सहर भएकाले यहाँ भारतीय ग्राहकहरूको पनि उल्लेख्य उपस्थिति देखिन्छ। सीमापार आवागमन सहज भएकाले यस्तो हुन स्वाभाविक पनि हुन सक्छ। तर यदि गैरकानुनी गतिविधि नै आकर्षणको मुख्य कारण बन्दै गएको हो भने, यसले सहरको छविमा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्छ। पर्यटन, लगानी र सामाजिक वातावरण सबै प्रभावित हुन सक्छन्।
हामी युवाहरू विशेषगरी यस कारण चिन्तित छौं कि यस्ता गतिविधिले समाजमा विकृति फैलाउँछन्। राति अबेरसम्म हुने हुलदंगा, मादक पदार्थको दुरुपयोग, झै–झगडा, र सम्भावित आपराधिक गतिविधिले आसपासका बासिन्दाको शान्ति भंग गरिरहेको छ। विद्यालय र कलेज नजिकै यस्ता स्थान सञ्चालन हुँदा किशोर–किशोरीमा नकारात्मक प्रभाव पर्ने सम्भावना पनि उत्तिकै रहन्छ।यदि प्रहरीलाई मासिक रकम बुझाएर खुलेआम गैरकानुनी धन्दा गर्न पाइन्छ भन्ने सन्देश समाजमा स्थापित भयो भने, त्यसले कानुनप्रतिको सम्मान नै कमजोर बनाउँछ। सामान्य नागरिकले सानो गल्ती गर्दा कारबाही भोग्नुपर्छ, तर पैसाको बलमा ठूलो अपराध ढाकछोप हुन्छ भन्ने धारणा बन्यो भने राज्यको वैधतामाथि नै प्रश्न उठ्छ।
त्यसैले, हामी निम्न मागहरू सार्वजनिक रूपमा राख्न चाहन्छौं ,बर्दिबासका डान्सबार, स्पा तथा मसाज सेन्टरहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरियोस्। तोकिएको समयसीमा र आचारसंहिता उल्लंघन गर्ने प्रतिष्ठानहरूलाई कानुनी कारबाही गरियोस्। प्रहरीसँग आर्थिक लेनदेन भएको भन्ने आरोपको उच्चस्तरीय अनुसन्धान गरियोस्। छानबिन प्रक्रियामा नागरिक समाज र स्थानीय तहका प्रतिनिधिहरूको अनुगमन सुनिश्चित गरियोस्। व्यवसाय सञ्चालनका लागि स्पष्ट मापदण्ड सार्वजनिक गरियोस्, ताकि वैध र अवैध गतिविधिबीच स्पष्ट भिन्नता स्थापित होस्।
हामी कसैको रोजगारी खोस्न चाहँदैनौं। हामी कानुनी व्यवसायको विरोधी होइनौं। तर ‘सेटिङ’ र संरक्षणको नाममा कानून मिच्ने संस्कारको अन्त्य हुनुपर्छ। राज्य संयन्त्रमा बसेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह नगरेसम्म सुशासन सम्भव हुँदैन।हामी सम्पादकज्यूमार्फत सम्बन्धित निकायको ध्यान यसतर्फाकर्षित गर्न चाहन्छौं। यदि आरोप निराधार छन् भने तथ्यसहित खण्डन होस्। यदि सत्य छन् भने दोषीमाथि कारबाही होस्। पारदर्शिता नै समाधानको पहिलो कदम हो।अन्त्यमा, बर्दिबासलाई विकृत गतिविधिको केन्द्र होइन, अनुशासित र सुरक्षित सहरका रूपमा विकास गर्ने हाम्रो सामूहिक जिम्मेवारी हो। प्रहरी, प्रशासन, व्यवसायी, अभिभावक र युवा—सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी लिनुपर्छ। कानून सबैका लागि समान हो भन्ने सन्देश व्यवहारमै स्थापित हुनुपर्छ।
भवदीय,
स्थानीय क्लव तथा जेनजी समूहका युवाहरू
बर्दिबास, महोत्तरी

सम्बन्धित समाचार