पशुपतिनगर नाकामा तस्करी मौलायो, सुरक्षा निकायमै ‘सेटिङ’को गन्ध !

5.4k Shares

इलाम। देश प्रतिनिधिसभा निर्वाचनको माहोलमा छ। शान्तिपूर्ण र निष्पक्ष मतदान सुनिश्चित गर्न चारवटै सुरक्षा निकाय उच्च सतर्कतामा छन्। तर पूर्वी पहाडको संवेदनशील सीमा क्षेत्र, इलामको पशुपतिनगर नाकामा भने फरक दृश्य देखिएको स्थानीयको गुनासो छ। निर्वाचन सुरक्षा कडाइ हुनुपर्ने बेला सीमामा तस्करी झन् संगठित र संरक्षित बन्दै गएको आरोपहरू सार्वजनिक भइरहेका छन्।
सीमा सुरक्षा र चोरी–तस्करी नियन्त्रणको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपाल को पशुपतिनगर गुल्ममाथि नै तस्करीलाई संरक्षण दिएको गम्भीर आरोप लागेको छ। स्थानीय व्यवसायी, सरोकारवाला र केही सुरक्षा स्रोतहरूका अनुसार भारतीय मदिरा (विशेष गरी रम) र खाद्यान्न भन्सार छलि गरी ठूलो मात्रामा नेपाल भित्रिने क्रम रोकिएको छैन, बरु ‘सेटिङ’मार्फत व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ।
हाल पशुपतिनगर गुल्मको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्र कार्कीले गरिरहेका छन्। उनी हालै कोशी प्रदेशस्थित बाहिनीबाट यहाँ सरुवा भएर आएका हुन्। यसअघि पशुपतिनगरमा कार्यरत डीएसपी प्रकाश कोइरालाको निधनपछि नेतृत्व परिवर्तन भएको थियो। नयाँ नेतृत्व आएपछि सीमा निगरानी कडा हुने अपेक्षा गरिएको थियो, तर स्थानीय स्रोतहरू भन्छन्—“तस्करीको शैली मात्रै फेरिएको छ, रोकिएको छैन।”
स्रोतका अनुसार निरीक्षक कार्कीले सहायक हवल्दार फूर्वा मोक्तानलाई ‘घुमुवा’को रूपमा परिचालन गरेका छन्। यही घुमुवा मार्फत तस्करीमा संलग्न व्यक्तिसँग सम्पर्क, समन्वय र रकम लेनदेन हुने गरेको आरोप छ। तस्करहरूलाई कुन दिन, कुन समय र कुन मार्ग सुरक्षित हुन्छ भन्ने जानकारी नै सुरक्षाकर्मीबाट पुग्ने गरेको दाबी स्थानीयहरूले गरेका छन्।
निर्वाचनका कारण सीमा क्षेत्रमा चेकजाँच बढेको देखिन्छ। तर यही कडाइलाई ‘आवरण’ बनाएर सीमित समूहलाई मात्रै सहज बाटो खुला गरिएको आरोप छ। सामान्य सर्वसाधारणमाथि कडाइ, तर सेटिङ भएका कारोबारीका सवारी साधन निर्बाध आवत–जावत गर्ने गरेको स्थानीय प्रत्यक्षदर्शी बताउँछन्।भारतीय बजारबाट सस्तो दरमा खरिद गरिएका रम, बियर तथा अन्य मदिराजन्य पदार्थ रातिको समयमा साना सवारी, मोटरसाइकल र कहिलेकाहीँ पैदल बोकाएर नेपालतर्फ ल्याइन्छ। त्यसैगरी चामल, चिनी, मसला लगायतका खाद्यान्न पनि ठूलो मात्रामा भित्रिने गरेको छ। भन्सार प्रक्रियाविना ल्याइने यस्ता सामान सिधै स्थानीय गोदाम र बजारमा पु¥याइन्छ।
दैनिक लाखौं राजश्व गुम्दै
तस्करीका कारण राज्यले दैनिक लाखौं रुपैयाँ राजश्व गुमाइरहेको अनुमान स्थानीय व्यवसायीहरू गर्छन्। कानुनी रूपमा भन्सार तिरेर सामान ल्याउने व्यापारीहरू भने प्रतिस्पर्धामा टिक्न नसक्ने अवस्था आएको बताउँछन्। “हामीले सबै प्रक्रिया पुरा गरेर ल्याएको सामानभन्दा तस्करीको सामान सस्तो पर्छ। यस्तो अवस्थामा वैध व्यापार कसरी टिक्छ?” एक व्यवसायीले प्रश्न गरे।राजश्व चुहावट मात्र होइन, अवैध मदिरा र खाद्यान्नको अनियन्त्रित आयातले बजारमा अस्वस्थ प्रतिस्पर्धा र उपभोक्तामाथि जोखिमसमेत बढाएको छ। गुणस्तर परीक्षणविना भित्रिने खाद्यान्नले स्वास्थ्यमा असर पार्ने सम्भावना उच्च हुने विज्ञहरू बताउँछन्।
इलाम जिल्लाको प्रमुख सीमा नाका मानिने पशुपतिनगरमा यति ठूलो परिमाणमा तस्करी भइरहँदा सम्बन्धित निकाय किन मौन छन् भन्ने प्रश्न उठेको छ। स्थानीय प्रशासन, भन्सार कार्यालय र अन्य सुरक्षा निकायबीच समन्वय कमजोर छ कि जानाजान आँखा चिम्लिएको हो भन्ने आशंका चुलिएको छ।निर्वाचनको संवेदनशील समयमा सीमाबाट अवैध रकम संकलन हुनु आफैंमा गम्भीर विषय भएको जानकारहरू बताउँछन्। “निर्वाचनका बेला पैसाको चलखेल बढ्छ। सीमा तस्करीबाट उठेको रकम राजनीतिक प्रभाव पार्न प्रयोग हुन सक्छ,” एक सुरक्षा विश्लेषकले बताए।
स्थानीय नागरिक समाज र व्यवसायीहरूले पशुपतिनगर नाकामा भइरहेको भनिएको तस्करी र सुरक्षा निकायको भूमिकाबारे उच्चस्तरीय छानबिनको माग गरेका छन्। सशस्त्र प्रहरी बलको केन्द्रीय नेतृत्वले तत्काल अनुगमन टोली पठाएर वास्तविकता सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ।यदि आरोप सत्य ठहरिए, भने जिम्मेवार अधिकारीमाथि कडा कारबाही हुनुपर्ने आवाज उठेको छ। सीमा सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा ‘सेटिङ’ संस्कृति मौलाउनु राष्ट्रिय सुरक्षाकै लागि खतरा हुन सक्ने चेतावनी सरोकारवालाहरूले दिएका छन्।
देश निर्वाचनमा होमिएको बेला सीमा क्षेत्रको सुरक्षा अझ सुदृढ हुनुपर्ने हो। तर इलामको पशुपतिनगर नाकाबाट तस्करी मौलाएको आरोपहरूले गम्भीर प्रश्न खडा गरेको छ। सुरक्षाकर्मीहरू जनताको भरोसाको प्रतीक हुन्। यदि त्यही निकायमाथि संरक्षण र सेटिङको आरोप लाग्छ भने त्यसले राज्य संयन्त्रप्रतिको विश्वासमा आँच पु¥याउँछ।अब प्रश्न स्पष्ट छ—निर्वाचनको सुरक्षा कडाइ साँच्चिकै जनताको हितका लागि हो कि सीमित समूहको लाभका लागि? पशुपतिनगर नाकाको वास्तविकता उजागर गर्न निष्पक्ष छानबिन अनिवार्य देखिएको छ।

सम्बन्धित समाचार