सिरहा । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा सिरहामा नगद रकम र नमुना मतपत्रसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षक ओमप्रकाश पण्डित, सप्रनि भूपेन्द्र निरौला तथा नेपाली सेनाका जम्दार राजाराम दराईको कमाण्डमा खटिएको संयुक्त चेकिङ टोलीले सोमबार राति करिब ११ः५० बजे सिरहा नगरपालिका–१ शिवचोकमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च ०८७ नम्बरको स्कोर्पियो गाडी जाँच गर्दा गाडीभित्र जनता समाजवादी पार्टीका ५५ थान नमुना मतपत्र तथा नगद ४ लाख ८७ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । बरामद रकममध्ये एक हजार दरका ४१२ थान र पाँच सय दरका १५० थान नोट रहेका छन् ।
नियन्त्रणमा पर्नेहरूमा विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर बस्ने ५४ वर्षीय अशेश्वर यादव (सिरहा क्षेत्र नम्बर ३ का जसपा उम्मेदवार), सोही स्थानका ३२ वर्षीय श्यामकुमार यादव, ३५ वर्षीय रामप्रवेश यादव, ४० वर्षीय वीरेन्द्रकुमार यादव तथा नरहा गाउँपालिका–३ का २८ वर्षीय चालक जितेन्द्रकुमार महतो रहेका छन्।
प्रहरीले नगद, नमुना मतपत्र र गाडीसहित सबैलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ । घटनास्थल जिप्रका सिरहाबाट करिब एक किलोमिटर दक्षिणमा पर्छ ।
निर्वाचन आचारसंहिताविपरीत गतिविधि हुन सक्ने आशंकाबीच सुरक्षाकर्मीले कडाइका साथ चेकजाँच तीव्र पारेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।