मिथिला मध्यमा परिक्रमा कञ्चनवनमा, खेलियो होली

5.7k Shares

मिथिला मध्यमा परिक्रमामा सहभागीहरूले कञ्चनवनमा होली खेलेर पर्व मनाए।
फागुन शुक्ल प्रतिपदाबाट सुरु भएको परिक्रमा सप्तमीमा कञ्चनवन पुग्ने गर्छ।
कञ्चनवनको होलीमा मिथिलाञ्चलका मठ मन्दिरका व्यक्तिहरूको सहभागिता हुन्छ।
धनुषा । मिथिला मध्यमा परिक्रमामा सहभागीहरूले कञ्चनवनमा पुगेर होली खेलेका छन् । मिथिला विहारीको डोलासँगै कञ्चनवन पुगेका परिक्रमामा सहभागीहरूले एक अर्कालाई रङ अबिर दलेर होली पर्व मनाएका हुन् । 

परिक्रमामा सहभागीहरूले रङ अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ। परिक्रमा डोला कञ्चन वनमा पुगेपछि होली खेल्ने परम्परा रहेको संस्कृतिविद डाक्टर राजेन्द्र विमलले बताए । त्यहाँको होलीमा मिथिलाञ्चलका अधिकांश मठ मन्दिरका महन्थ, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा आबद्ध व्यक्तिहरूको सहभागिता हुने गरेको छ । 

फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला विहारीको डोलासँगै ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने गर्छ । कञ्चन वनको होलीको प्राचीनतालाई देखेर विगत एक दशकदेखि होली महोत्सवको आयोजना हुँदै आइरहेको छ । 

जनकपुरधामस्थित सुन्दर सदनका महन्थ नवलकिशोर शरणले कञ्चनवनमा हुनेजस्तो होली मिथिलाञ्चलमा कहीँ कतै नहुने बताए । जनकपुरधामको हनुमान नगरबाट डोलासहित हिँडेको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड घुमेर  कञ्चनवन पुगेको हो । परिक्रमाको टोली आज राति कञ्चनवनमा विश्राम गरी भोलि द्रुपकुण्डका लागि प्रस्थान गर्ने जनाइएको छ।

सम्बन्धित समाचार