‘साइलेन्ट किलर’ वायु प्रदूषण : फोक्सोको क्यान्सरदेखि हृदयाघातसम्मको जोखिम

1.3k Shares

वायु प्रदूषणले मानव शरीरका विभिन्न अङ्गहरूमा कसरी आक्रमण गर्छ ? यसबाट जोगिनका लागि व्यक्तिगत र सामुदायिक तहमा के–कस्ता सावधानी अपनाउन सकिन्छ ? व्यायाम र खानपानको भूमिका कस्तो रहन्छ र प्रदूषित हावाले कसरी ‘साइलेन्ट किलर’को रूपमा काम गरिरहेको छ भन्ने विषयमा केन्द्रित रहेर छाती रोग विशेषज्ञ डा. राजु पंगेनीसँग रातोपाटीकी उषा काफ्लेले गरेको कुराकानी-

पछिल्लो समय काठमाडौँ उपत्यकामा वायु प्रदूषण निकै बढेको छ, यसले हाम्रो शरीरमा कसरी असर पुर्‍याउँछ ?
काठमाडौँ उपत्यकाको भौगोलिक बनावट कचौराजस्तो भएकाले यहाँ प्रदूषित हावा सजिलै बाहिर जान पाउँदैन, जसले गर्दा प्रदूषणको स्तर निकै उच्च हुन्छ । वायु प्रदूषणमा धुलोका अति साना कणहरू, कार्बन मोनोअक्साइड, ओजोन र नाइट्रोजन डाइअक्साइड जस्ता हानिकारक रसायनहरू मिसिएका हुन्छन् । यी कण यति मसिना हुन्छन् कि हाम्रो नाक र घाँटीको सुरक्षा प्रणालीलाई समेत पार गरेर सिधै फोक्सोको भित्री भागसम्म पुग्छन् ।

प्रदूषणलाई दुई भागमा बाँड्न सकिन्छ— बाह्य प्रदूषण, जुन सवारी साधनको धुवाँ र कलकारखानाबाट निस्कन्छ, र आन्तरिक प्रदूषण, जुन घरभित्रै दाउरा बाल्दा, धूम्रपान गर्दा वा जाडोमा हिटर र कोइलाको प्रयोग गर्दा पैदा हुन्छ । यी प्रदूषित कणहरू फोक्सोबाट सोसिएर रगतमा मिसिन्छन् र रक्तसञ्चारको माध्यमबाट मुटु, मस्तिष्क, मिर्गौला र प्रजनन अङ्गहरूसम्म पुगी शरीरका विभिन्न प्रणालीमा क्षति पुर्‍याउँछन् ।

अहिले अस्पतालहरूमा प्रदूषणका कारण कस्ता स्वास्थ्य समस्या भएका बिरामीहरूको चाप बढी छ ?
अहिले धेरैजसो बिरामी श्वासप्रश्वास सम्बन्धी समस्या लिएर आउनुहुन्छ । यसमा विशेषगरी नाक बन्द हुने, घाँटी खसखस गर्ने, सुक्खा खोकी लाग्ने र रातभरि खोकीका कारण निद्रा नपर्ने समस्याहरू बढी देखिएका छन् । धेरै बिरामीमा छाती घ्यारघ्यार हुने र श्वास फेर्न कठिन हुने ‘ब्रोन्काइटिस’को लक्षण देखिएको छ । पहिलेदेखि नै दम वा एलर्जीको समस्या भएका बिरामीहरूमा प्रदूषणले गर्दा रोग बल्झिएर अक्सिजनको मात्रा घट्ने र आकस्मिक रूपमा अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आएको छ । कतिपयमा सङ्क्रमणका कारण ज्वरो आउने, पहेँलो खकार आउने र हिँडडुल गर्दा पनि सास फुल्नेजस्ता लक्षण देखिएका छन्, जुन वायु प्रदूषणको प्रत्यक्ष परिणाम हो ।

प्रदूषणले श्वासप्रश्वास बाहेक मुटु र मस्तिष्कमा कस्तो असर गर्छ ? के यसले दीर्घकालीन जटिलताहरू निम्त्याउँछ ?
प्रदूषणको असर फोक्सोमा मात्र सीमित हुँदैन । रगतमा मिसिएका हानिकारक रसायनहरूले मुटुका नसाहरूमा अवरोध सिर्जना गरी हृदयाघात  गराउने जोखिम बढाउँछन् । त्यसैगरी, मस्तिष्कमा पुगेपछि यसले मस्तिष्कघात वा पक्षघात गराउन सक्छ । पछिल्लो समय वायु प्रदूषणका कारण मानिसको स्मरणशक्तिमा ह्रास आउने, ध्यान केन्द्रित गर्न गाह्रो हुने र चिडचिडापन बढ्ने जस्ता समस्या पनि पाइएका छन् । यसले मिर्गौलाको कार्यक्षमतामा असर गर्ने, मधुमेह र उच्च रक्तचापलाई थप जटिल बनाउने र प्रजनन क्षमतामा समेत ह्रास ल्याउने जोखिम रहन्छ । यो एक प्रकारको ‘साइलेन्ट किलर’ हो, जसको असर तत्काल नदेखिए पनि लामो समयमा शरीरका अङ्गहरूलाई क्रमशः कमजोर बनाउँदै लैजान्छ ।

गर्भवती महिला, बालबालिका र वृद्धवृद्धामा प्रदूषणको जोखिम कत्तिको छ ?
यी तीन समूह सबैभन्दा बढी जोखिममा छन् । गर्भवती महिलाहरू प्रदूषित वातावरणमा लामो समय बस्दा त्यसको सिधा असर गर्भको भ्रुणमा पर्छ । यसले समय नपुगी बच्चा जन्मने वा कम तौलको बच्चा जन्मने समस्या निम्त्याउन सक्छ । अझ महत्त्वपूर्ण कुरा, प्रदूषित ठाउँमा जन्मिएका बच्चाहरूको फोक्सोको विकास पूर्ण रूपमा हुन पाउँदैन, जसले गर्दा उनीहरूलाई भविष्यमा दम र अन्य श्वासप्रश्वासका समस्या हुने सम्भावना धेरै रहन्छ ।

बालबालिका र वृद्धवृद्धामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले प्रदूषणले गर्दा उनीहरूमा निमोनियाको सङ्क्रमण छिटो हुन्छ र जटिलता पनि चाँडै देखिन्छ ।

वायु प्रदूषण र फोक्सोको क्यान्सरको सम्बन्धका बारेमा के भन्नुहुन्छ? के यो धूम्रपान जत्तिकै खतरनाक हो ?
पहिले फोक्सोको क्यान्सरको मुख्य कारण धूम्रपानलाई मात्र मानिन्थ्यो, तर अहिले धूम्रपान नगर्ने व्यक्तिहरूमा पनि क्यान्सरको जोखिम उत्तिकै बढेको छ । यसको प्रमुख कारण वायु प्रदूषण नै हो । धूम्रपानमा पाइने जति पनि हानिकारक तत्वहरू छन्, ती सबै प्रदूषित हावामा पनि पाइन्छन् । लामो समयसम्म प्रदूषित वातावरणमा बस्नु र धूम्रपान गर्नु फोक्सोका लागि उत्तिकै घातक छ । त्यसैले अहिले वायु प्रदूषणलाई फोक्सोको क्यान्सरको दोस्रो ठुलो कारणको रूपमा लिइन्छ ।

वायु प्रदूषणबाट जोगिन के–कस्ता उपाय अपनाउन सकिन्छ ? कस्तो खानपान र जीवनशैली आवश्यक छ ?
प्रदूषणबाट पूर्ण रूपमा जोगिन कठिन भए पनि केही सावधानी अपनाएर यसको असर कम गर्न सकिन्छ । पहिलो त, घरबाहिर निस्कँदा गुणस्तरीय मास्कको सही तरिकाले प्रयोग गर्नुपर्छ । काठमाडौँमा बिहानको समयमा प्रदूषणको मात्रा उच्च हुने भएकाले बिहानको हिँडडुल भन्दा घाम लागेपछि वा दिउँसोको समयमा बाहिर निस्कनु उपयुक्त हुन्छ ।

घरभित्र पनि हावालाई सफा राख्न एयर फिल्टरको प्रयोग गर्न सकिन्छ । खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । प्रोटिनयुक्त खाना र पर्याप्त मात्रामा झोलिलो पदार्थ पिउनाले फोक्सोमा खकार जम्न पाउँदैन र श्वास फेर्न सहज हुन्छ । मुटु वा फोक्सोका दीर्घकालीन बिरामीहरूले चिकित्सकको सल्लाह बमोजिम निमोनिया र फ्लु विरुद्धको खोप लगाउनु पर्छ । घरभित्रको वातावरण सफा राख्न भेन्टिलेसनको उचित व्यवस्था गर्ने र धुलो, धुवाँ आउने गतिविधिहरू कम गर्नुपर्छ । यदि ३ देखि ५ दिनसम्म पनि रुघाखोकी निको भएन वा सास फेर्न गाह्रो भयो भने तुरुन्त विशेषज्ञ चिकित्सकलाई देखाउनु पर्छ ।

सम्बन्धित समाचार