अन्तरिक्षमा प्रजनन स्वास्थ्य चाँडै वास्तविक चुनौती बन्न सक्ने अध्ययनले चेतावनी दिएको छ।
अन्तरिक्षमा मानव प्रजननका लागि सूक्ष्म गुरुत्वाकर्षण, ब्रम्हाण्डीय विकिरण र मानव शरीरको जैविक घडीमा अवरोध मुख्य कारण हुन्।
अध्ययनले लामो समयसम्म अन्तरिक्षमा बस्दा पुरुष र महिला दुवैको प्रजनन प्रणालीमा नकारात्मक असर पर्न सक्ने देखाएको छ।
काठमाडौँ । अन्तरिक्ष अब अन्वेषण मिसन र वैज्ञानिक प्रयोग मात्र सीमित रहेन । विस्तारै यो नियमित कार्यस्थलमा परिणत हुँदै गइरहेको छ । व्यावसायिक अन्तरिक्ष यात्रा विस्तार हुँदै गएपछि र मिसनहरू लामो समयसम्म रहन थालेपछि पहिले सैद्धान्तिक ठानिएका प्रश्नहरू अहिले व्यावहारिक चिन्तामा बदलिइरहेका छन् ।
सहायक प्रजनन प्रविधिहरू (एआरटी)जस्तै स्वचालित आईभीएफ र क्रायोप्रिजर्भेशन (अण्डा वा भ्रुणको संरक्षण)मा भएका प्रगतिहरूले पृथ्वी बाहिर प्रजननको सम्भावनालाई अब बेवास्ता गर्न नसकिने विषय बनाइसकेको छ । अन्तरिक्षमा प्रजनन स्वास्थ्य चाँडै वास्तविक चुनौती बन्न सक्ने नयाँ अन्तर्राष्ट्रिय अध्ययनले चेतावनी दिएको छ ।
अध्ययन अनुसार १९६९ को चन्द्रमामा पहिलो मानव अवतरण र आईभीएफमा भएको क्रान्तिकारी प्रगति अप्रत्याशित तरिकाले सम्बन्धित छन् । अन्तर्राष्ट्रिय आईभीएफ इनिसिएटिभ इंकका क्लिनिकल एम्ब्रियोलोजिस्ट गाइल्स पामर भन्छन्, ‘हामीले अहिलेको अवस्थामा पृथ्वी बाहिर प्रजननसम्बन्धी जोखिमलाई व्यवस्थित गर्न कुनै उद्योग मानकहरू बनाएका छैनौं । विकिरणले प्रजनन क्षमतामा पुर्याउने क्षति वा मिसनका दौरान अनियोजित गर्भधारण यसमा समावेश छन् ।’
यो प्रतिवेदन रिप्रडक्टिभ बायोमेडिशिन अनलाइनमा प्रकाशित छ । यसमा प्रजनन स्वास्थ्य, अन्तरिक्ष चिकित्सा, र जैव–नैतिकतामा विशेषज्ञता हासिल गरेका नौ विशेषज्ञहरूले काम गरेका छन् । यस अध्ययनको मुख्य उद्देश्य अन्तरिक्षमा बच्चा जन्माउने प्रोत्साहन गर्नु होइन, बरु यसो गर्दा हुन सक्ने अपूरणीय क्षति हुनुअघि नीति र वैज्ञानिक क्षेत्रमा व्याप्त खाडलहरूलाई उजागर गर्नु हो ।
प्रजननका लागि अन्तरिक्ष किन प्रतिकूल छ ?
अन्तरिक्षमा मानव प्रजननलाई चुनौतीपूर्ण बनाउने मुख्य कारणहरू यसप्रकार छन्ः
–सूक्ष्म गुरुत्वाकर्षण
–ब्रम्हाण्डीय विकिरण
–मानव शरीरको जैविक घडीमा अवरोध
छोटो अवधि मात्रै विकिरणको सम्पर्कमा आउँदा मात्रै पनि पशुहरूमा महिनावारी चक्रमा अवरोध ल्याउन सक्ने र क्यान्सरको जोखिम बढाउन सक्ने अध्ययनहरूले देखाएका छन् । तर मानवमा लामो अवधिको अन्तरिक्ष मिसनले के प्रभाव पार्छ भन्ने विषयमा सीमित मात्रै डेटा उपलब्ध छ । विशेषतः पुरुष प्रजनन स्वास्थ्यमा यसको असरबारे ‘गम्भीर ज्ञानको खाडल’ रहेको अध्ययनले उल्लेख गरेको छ ।
के भन्छ घिल्लो अन्तरिक्षयात्रीको डेटाले ?
स्पेस शटल युगका महिला अन्तरिक्षयात्रीको गर्भधारण दर पृथ्वीमा महिलाहरूको दरसँग मिल्दोजुल्दो थियो । तर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा लामो समय बस्ने वा मंगल ग्रहका लागि योजना बनाइएका मिसनहरूले नयाँ परीक्षण विधि र रोकथाम रणनीतिहरू आवश्यक बनाउँछन् । भविष्यका मिसनहरूमा प्रजनन स्वास्थ्य र जैविक जोखिमहरूको व्यवस्थापनका लागि अवैध वा आकस्मिक गर्भधारणजस्ता घटनालाई रोक्न ठोस नीति बनाउनु अति आवश्यक रहेको अध्ययनका लेखकहरू भन्छन् ।
लामो समयसम्म अन्तरिक्षमा बस्दा पुरुष र महिला दुवैको प्रजनन प्रणालीमा नकारात्मक असर पर्न सक्छ भन्ने कुरा अनुसन्धानले देखाएको छ । ब्रह्माण्डीय विकिरण, गुरुत्वाकर्षण, सर्काडियन लय गडबडी, र शारीरिक तथा मानसिक तनाव जिम्मेवार हुन सक्छन् ।
यद्यपि अनुसन्धानले छोटो मिसनहरूले प्रजनन स्वास्थ्यमा उल्लेखनीय प्रभाव पार्दैन भन्ने कुरालाई यसले हाइलाइट गरेको छ । यद्यपि अन्तरिक्षमा मानव सभ्यता स्थापना गर्ने कुरा आउँदा, नतिजा अझै अस्पष्ट छन् । वैज्ञानिकहरूसँग अझै पनि अन्तरिक्षमा बच्चा जन्माउनु कति सुरक्षित छ भन्ने जवाफ छैन ।