महोत्तरीको सम्सी नाकाबाट राष्ट्रिय जनावर गाईगोरूको तस्करी, एकै राति भारत पुर्याइँका २५०  गाईगोरू एसएसबीको  नियन्त्रणमा

4.6k Shares

महोत्तरी । महोत्तरी जिल्लाको सम्सी नाकाबाट राष्ट्रिय जनावर गाईगोरूको अवैध तस्करी भएको खुलासा भएको छ। एकै राति करिब २५० वटा गाईगोरू भारततर्फ लैजाँदै गरिएको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका गाईगोरूहरू हाल सुरक्षित स्थानमा राखिएको छ भने घटनामा संलग्न तस्करहरूको खोजी भइरहेको भारतीय सुरक्षाकर्मीले बताएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार यो तस्करी संगठित गिरोहद्वारा गरिएको हुनसक्ने आशंका गरिएको छ।
 नेपालको संविधानले राष्ट्रिय जनावरको मान्यता दिएको गाईगोरूको खुलेआम तस्करी महोत्तरी जिल्लाको सम्सी नाकाबाट भइरहेको तथ्य बाहिर आएको छ। स्थानीय स्रोत, सुरक्षाकर्मी तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का विवरण अनुसार गौशाला र महेन्द्रनगर क्षेत्रबाट संकलन गरिएका सयौँ गाईगोरूहरू नेपाल–भारत सीमावर्ती क्षेत्र प्रयोग गर्दै भारत तस्करी गर्ने गरिएको पाइएको छ।
तस्करीको यो शृङ्खला तब सार्वजनिक भयो जब भारतीय सीमा सुरक्षा बलले एकै राति २५० भन्दा बढी गाईगोरू नियन्त्रणमा लिएको पुष्टि गरेको छ। भगवतीपुरस्थित एसएसबी क्याम्पले १३० वटा र कनवा (Kanwa) स्थित एसएसबी क्याम्पले १२० वटा गाईगोरू नियन्त्रणमा लिएको भारतीय सुरक्षाकर्मीहरूले बताएका छन् ।
महोत्तरीको सम्सी क्षेत्र कुनै औपचारिक अन्तर्राष्ट्रिय नाका होइन। यही कमजोरीलाई प्रयोग गर्दै तस्करहरूले ग्रामीण बाटो, खेत, खोल्सा र सीमावर्ती बस्तीहरू हुँदै गाईगोरू भारत लैजाने गरेको स्थानीयहरूको भनाइ छ।स्थानीय बासिन्दाहरूका अनुसार, दिनहुँजसो गाडी र ट्र्याक्टरमा गाईगोरू ओसारपसार भइरहँदा पनि सुरक्षाकर्मीहरूले कुनै अवरोध नगर्नु सामान्य विषय होइन।स्थानीय एक बासिन्दा भन्छन्,“दिनको समयमा गाडीमा गाई लोड भइरहेको देखिन्छ, राति लगिन्छ। सबैले देख्छन्, तर बोल्ने आँट कसैसँग छैन।”
कहाँबाट ल्याइन्छ, कहाँ राखिन्छ ?
स्थानीय स्रोत र सुरक्षाकर्मीभित्रकै जानकारी अनुसार,गौशाला नगरपालिका र महेन्द्रनगर क्षेत्रबाट गाईगोरूहरू संकलन गरी गाडीमा लोड गरिन्छ। त्यसपछि तिनीहरूलाई सम्सी र पर्सा जिल्लाको सीमावर्ती क्षेत्रको बीच भागमा अस्थायी रूपमा राख्ने गरिन्छ।त्यहाँबाट अनुकूल समय मिलाएर रघुनाथपुर र खयरवनीको बीच क्षेत्र हुँदै भारततर्फ लैजाने गरिएको बताइएको छ।
यो प्रक्रिया लामो समयदेखि निरन्तर रूपमा चलिरहेको स्थानीयहरूको दाबी छ।
तस्करीका ‘मुख्य पात्र’ को हुन्?
स्थानीय स्रोत र सशस्त्र प्रहरी बलका एक गणस्तरका अधिकृतका अनुसार,गाईगोरू तस्करीको मुख्य सञ्चालनकर्ता “शेख” भन्ने व्यक्ति रहेको आरोप छ।त्यसैगरी, प्रहरी, सशस्त्र प्रहरी र प्रशासनलाई मिलाउने, सेटिङ गर्ने काम “तमन्ना” भन्ने व्यक्तिले गर्ने गरेको आरोप लगाइएको छ।ती अधिकृत भन्छन्,“नाकामा को हुन्छ, कहिले गाडी जान्छ, कुन बाटो प्रयोग हुन्छ—सबै पहिले नै सेट हुन्छ। बिना सेटिङ यस्तो सम्भव हुँदैन।”
प्रहरी–प्रशासनको भूमिकामाथि प्रश्न
स्थानीय बासिन्दा र सामाजिक अभियन्ताहरूले स्थानीय प्रहरी, सशस्त्र प्रहरी र प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।तिनीहरूका अनुसार , तस्करीको सूचना हुँदाहुँदै पनि कारबाही नहुनु , उजुरी परे पनि मुद्दा दर्ता नगर्नु , उल्टै तस्करहरूसँग आर्थिक लेनदेन गरी गाई छोडिदिनु , यस्ता गतिविधिले सुरक्षा संयन्त्र नै तस्करीको संरक्षणमा लागेको आभास दिएको स्थानीयहरूको भनाइ छ।
भारतीय एसएसबीको सक्रियता
नेपाली पक्ष मौन देखिँदा भारतीय सीमा सुरक्षा बल भने सक्रिय देखिएको छ।
एसएसबी स्रोतका अनुसार,नेपालबाट अवैध रूपमा भारत भित्र्याइँदै गरेका गाईगोरूहरूलाई नियमित गस्तीका क्रममा नियन्त्रणमा लिइएको हो।एक भारतीय सुरक्षाकर्मीले नाम नछाप्ने सर्तमा भने,“यति ठूलो संख्यामा गाई आउनु भनेको यो आकस्मिक होइन, संगठित तस्करी हो।”
नेपाली पक्षको मौनता
भारतीय एसएसबीले यति ठूलो परिमाणमा गाईगोरू नियन्त्रणमा लिँदा पनि , नेपाली सुरक्षा निकायबाट औपचारिक विज्ञप्ति आएको छैन , कुनै छानबिन समिति गठन भएको छैन , दोषी पहिचान र कारबाहीबारे सरकारी धारणा सार्वजनिक भएको छैन , यसले राज्य संयन्त्रको उदासीनता झल्काएको स्थानीयहरूको टिप्पणी छ।
गाई : राष्ट्रिय जनावर र कानुनी व्यवस्था
नेपालको संविधान तथा प्रचलित कानुनले गाईलाई राष्ट्रिय जनावर मानेको छ।
प्रचलित कानुनी व्यवस्था अनुसार , गाईगोरूको वध पूर्ण रूपमा निषेध , घरायसी प्रयोजन बाहेक किनबेच, ओसारपसार र तस्करी गैरकानुनी , दोषीलाई कैद र जरिवानाको व्यवस्था , तर व्यवहारमा यी कानुनी प्रावधानहरू कडाइका साथ कार्यान्वयन नभएको देखिन्छ।
धार्मिक र सांस्कृतिक संवेदनशीलता
गाई नेपाली समाजमा केवल पशु मात्र होइन , हिन्दू धर्ममा आमाको प्रतीक , कृषक समुदायको मुख्य आधार , ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण हिस्सा , यस्तो संवेदनशील विषयमा भइरहेको तस्करीले धार्मिक भावना र राष्ट्रिय पहिचानमाथि नै प्रहार गरेको स्थानीय अगुवाहरू बताउँछन्।
स्थानीय आक्रोश र माग
घटनापछि स्थानीय बासिन्दाहरूमा आक्रोश बढ्दै गएको छ।उनीहरूको माग , तस्करीमा संलग्न सबै व्यक्तिको नाम सार्वजनिक , प्रहरी–प्रशासनको भूमिकामाथि निष्पक्ष छानबिन , गाईगोरू तस्करीलाई गम्भीर राष्ट्रिय अपराधको रूपमा लिनु । कानुन व्यवसायीहरूका अनुसार,गाईगोरू तस्करी केवल पशु अपराध नभई संविधान, धर्म, संस्कृति र राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो।यसमा संलग्न जो–कोहीमाथि कडा कानुनी कारबाही आवश्यक रहेको उनीहरूको भनाइ छ।
तस्कर हाबी, कानुन निरीह?
महोत्तरीको सम्सी नाकाबाट भइरहेको गाईगोरूको तस्करीले राज्यको कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको छ।जब राष्ट्रिय जनावर नै सुरक्षित हुँदैन,जब सुरक्षाकर्मीमाथि नै आरोप लाग्छ,तब आम नागरिकको विश्वास कमजोर हुनु स्वाभाविक हुन्छ।अब प्रश्न उठेको छ , राज्यले समयमै हस्तक्षेप गर्छ कि तस्करहरू अझ बलिया बन्दै जान्छन्?यो घटना छानबिनको विषय बन्छ कि अर्को समाचार बनेर हराउँछ?सम्सी नाकाको यो घटनाले सिंगो राज्य संयन्त्रको परीक्षा लिएको छ।स्थानीयवासीका अनुसार सम्सी नाका हुँदै पछिल्लो समय गाईगोरू तथा अन्य चौपायाको तस्करी बढ्दै गएको छ। सीमामा निगरानी कमजोर हुँदा यस्ता गतिविधि बारम्बार दोहोरिने गरेको उनीहरूको गुनासो छ।

सम्बन्धित समाचार