काठमाडौं, पुस २५ । रोमेलु लुकाकुले गोल गरेको खेलमा इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले शनिबार राति एफए कपको तेस्रो चरणमा चेस्टरफिल्डलाई ५–१ ले हराएको छ ।
तीन साताअघि एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा प्रशिक्षक थोमस टुचेलप्रति असन्तुष्टि जनाएपछि लुकाकु पहिलो पटक टोलीमा परेका हुन् । लुकाकुले प्रशिक्षक टुचेलको भूमिका आफूलाई मन नपरेको बताएका थिए । लुकाकुले २०औं मिनेटमा गोल गरेका थिए । इन्टर मिलानबाट क्लबको कीर्तिमानी रकममा अनुबन्ध भएका लुकाकुलाई प्रिमियर लिगमा लिभरपुलविरुद्धको खेलमा टिममा राखिएको थिएन ।
त्यसअघि चेल्सीले टिमो वेर्नरको गोलबाट छैटौं मिनेटमा अग्रता लिएको थियो भने १८औं मिनेटा कालुम हड्सन–ओडोईले अग्रता दोब्बर बनाएका थिए ।
स्टामफोर्ड ब्रिजमा युरोपियन च्याम्पियन चेल्सीका लागि आन्द्रेस क्रिष्टेनसनले ३९औं मिनेटमा चौथो गोल गरेका थिए । ५५औं मिनेटमा हाकिम जियाचले पेनाल्टीमा पाँचौं गोल थपे । ८०औं मिनेटमा एक्वासी एसान्टेले गरेको गोल चेस्टरफिल्डका लागि सान्त्वना बन्यो ।
चेल्सीले अब बुधबार राति लिग कपको सेमिफाइनलमा टोटनहमविरुद्ध खेल्नेछ ।
एफए कपमै गएराति प्रिमियर लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीले स्विनडनलाई ४–१ ले हरायो । लेस्टर सिटीले वाटफोर्डलाई ४–१ ले हराउँदा न्युक्यासल युनाइटेड लिग वानको क्लब क्याम्ब्रिज युनाइटेडसँग १–० ले स्तब्ध बन्यो । ब्राइनटनले वेष्ट ब्रोमलार्य २–१ ले हरायो । त्यस्तै क्रिष्टल प्यालेसले मिलवाललाई २–१ ले हराउँदा हडर्सफिल्डले बर्नलीलाई २–१ कै अन्तरमा हरायो । फुलह्यामले ब्रिष्टोल सिटीलाई १–० ले हरायो ।