ललितपुर । लौह पुरुष सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंहको सम्झनामा निरन्तर रुपमा ठूलो धनराशीको पुरस्कारसहित गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँको प्याङगाउँमा खुल्ला किक बक्सीङ प्रतियोगिताको कुम्भ मेला यस वर्ष पनि हुने भएका छ ।
यहि पौष २५, २६ र २७ गते गोदावरी नगरपालिका ११ प्याङगाउँ खेल मैदानमा लौह पुरुष सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंहको सम्झना सातौ खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिताको कुम्भमेला संचालन हुन लागेको हो ।
नेपालकै सबैभन्दा ठूलो धनराशी रहेको उक्त प्रतियोगिताको परिकल्पनाकार खेलकुद जगतका महानायक रुपमा परिचित बनिसकेका बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री माननीय मीनकृष्ण महर्जन रहेको प्रतियोगिता संयोजक ललितपुर जिल्ला खेलकुद बिकास समिति अध्यक्ष तथा किकबक्सिङ पुर्व राष्ट्रिय च्याम्पियन बिनोद महर्जनले खोजतलासलाई जानकारी गराएका छन् ।
यो प्रतियोगिता संचालन गर्न त्यति सहज र सजिलो छैन । किनकी नेपालकै सबैभन्दा ठूलो धनराशीको पुरस्कार भएका कारण यो प्रतियोगिताको लागि आर्थिक भार पनि त्यतिकै छ । प्रतियोगिताका लागि मेनपावर पनि निकै चाहिन्छ । प्रत्येक बर्ष संचालन हुँदै आएको उक्त प्रतियोगिता यो सातौ पटक संचालन गर्न लागिएको हो ।
उक्त प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, कराते, तेक्वान्दो, उसु, बक्सिङ, मुआई थाई, फुल कन्ट्याक्ट् कराते, आईटी एफ गरी १२ वटा खेलका साथै ७ वटै प्रदेशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक बिनोद महर्जन बताउँछन् । उक्त प्रतियोगिताको लागि पुरुष ५० केजि, ५५ केजि, ६० केजि, ६५ केजि, ७० केजि, र खुल्ला तौलमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै, महिला ४५ केजि, ५० केजि, ५५ केजि, ६० केजि, ६५ केजि र खुल्ला तौलमा प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगितामा प्रत्येक तौल समुहमा प्रथम हुने खेलाडीलाई ३० हजार रुपैयाँ, द्वितीय हुने खेलाडीलाई १५ हजार रुपैयाँ र तृतीय हुने खेलाडीलाई जनही ८–८ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै यस प्रतियोगिताको उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी पुरुष १ र महिला १ जना खेलाडीलाई उत्कृष्ट खेलाडी घोषित गरी जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने छ ।
सबै भन्दा बढी स्वर्ण पदक हासिल गर्ने टीमलाई टीम च्याम्पियन स्वरुप २ लाख रुपैयाँ, फस्ट रनरअफ १ लख रुपैयाँ र सेकेन्ड रनरअफलाई ५० हजार रुपैयाँ प्रदान गरिने संयोजक महर्जनले बताए । प्रतियोगितामा देशैभरीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलगायत देशका प्रतिष्ठित किकबकिङ खेलाडी गरी लगभग २ सय भन्दा बढी खेलाडीहरुको सहभागीता रहने संयोजक महर्जनले बताए । उक्त प्रतियोगिताको बागमती प्रदेश खेलकुद बिकास परिषद र गोदावरी नगरपालिका मुख्य प्रायोजक रहेको छ ।