सडक ओगट्न ट्राफिक प्रहरीको प्रयोग

7.2k Shares

काठमाडौँ– काठमाडौँको गोङ्गबु चोकस्थित सिटी स्क्वायर मलले सडक अतिक्रमण गरेर आफ्नो व्यापार व्यवसाय सुचारु गरेको छ। सिटी स्क्वायर अगाडि चक्रपथको सडक झण्डै आधा कब्जा गरी उसले निजी व्यापारको काम गरिरहेको छ।

एउटा निजी कम्प्लेक्सले यसरी सार्वजनिक सडक कब्जा गरेर आफ्नो व्यापार व्यवसाय गर्ने छुट छैन र हुँदैन पनि, तर सिटी स्क्वायरले सडक कब्जा गरेर आफ्नो व्यापार व्यवसाय गरिरहेको छ। यो व्यापार व्यवसायलाई सहयोग गर्ने काम बसपार्कस्थित ट्राफिक प्रहरी प्रभागले गरिरहेको छ। सार्वजनिक सडक कब्जा गरेर निजी व्यापार व्यवसाय गरिरहँदा ट्राफिक प्रहरीले त्यसलाई रोकेर सडक सहज रुपमा सञ्चालन गराउनुपर्ने थियो, तर उल्टै ट्राफिक प्रहरीले सिटी स्क्वायरको व्यवस्थापन पक्षसँग मिलेर सडक कब्जा गर्न सहयोग गरिरहेको छ।

सिटी स्क्वायर अगाडि दुई लेन सडक उक्त कम्प्लेक्सले सडक डिभाइडर प्रयोग गरी कब्जा गरेको छ। नयाँ बसपार्कतर्फबाट महाराजगंज आउने सवारी साधन उक्त कम्प्लेक्स अगाडि आएपछि नियमित रूपमा सञ्चालन हुन पाउँदैनन्। दुई लेन सडक कब्जा गरेकै कारण त्यहाँ सधैं ट्राफिक जाम त हुन्छ नै, सडक प्रयोगकर्ताहरूको बढी आवतजावत हुने भएकाले दुर्घटनाको पनि उत्तिकै सम्भावना रहन्छ र दुर्घटना पनि भइरहेका छन्।

सडकमा एउटा ट्याक्सी वा मोटरसाइकल एकछिन रोक्दा सिटी बजाउने र कारबाही गर्ने ट्राफिक प्रहरीले सिटी स्क्वायर अगाडि दुई लेन सडक कब्जा गरेर एउटा निजी व्यवसायीले आफ्नो व्यक्तिगत फाइदाको लागि व्यापार व्यवसाय गर्दा उक्त काम किन रोक्दैन भन्ने प्रश्न गम्भीर छ। उक्त रूपमा लामो समयदेखि यातायातको साधन चलाउँदै आएका एक व्यवसायीले भने ट्राफिक प्रहरीले उक्त मलतर्फबाट मासिक आधा लाख रुपैयाँ लिने गरेका कारण ट्राफिक प्रहरीले दुई लेन सार्वजनिक सडक कब्जा गर्दा पनि नहटाएको बताए। उक्त मलको अगाडि ट्राफिक व्यवस्थापन मिलाउन मलका व्यक्तिगत कर्मचारीझैँ गरी सरकारी तलब खाने ट्राफिक प्रहरी खटिएको जो–कोहीले पनि देख्न सक्छ।

उक्त कम्प्लेक्समा दुई तला पार्किङको व्यवस्था रहेको छ। उक्त पार्किङमा चर्को मूल्य लिएर मात्रै पार्किङ गर्न पाइन्छ। सामान खरिद गर्न जाने ग्राहक हुन् वा सिनेमा हेर्न जाने व्यक्ति, अथवा रेस्टुरेन्टमा खान जाने ग्राहक नै किन नहुन्, उनीहरूले समेत पार्किङ गरेबापत छुट्टै रकम दिनुपर्छ। पार्किङबाट धेरै रकम असुल गर्नका लागि नै मल बाहिर पार्किङ गर्न दिइँदैन। कसैले पार्किङ गरिहाले चेन लगाइदिने, लक लगाइदिने काम ट्राफिक प्रहरीले गर्दै आएको छ। भित्र पार्किङ फुल भएपछि मात्रै बाहिर पार्किङ गर्न दिइन्छ, अन्यथा ट्राफिक प्रहरी आफैँ बसेर मलभित्र पार्किङ गर्न निर्देशन दिने काम गर्दै आएको छ। यसरी गोङ्गबु चोकमा ट्राफिक प्रहरीको बदनामी मात्रै भएको छैन कि बसपार्कको ट्राफिक प्रहरी प्रमुख र गोङ्गबु चोकमा खटिएका ट्राफिक प्रहरी सिटी स्क्वायरका कर्मचारी हुन् कि जस्तो भान सबैलाई हुने गरेको छ।

स्थानीय केही यातायात व्यवसायीहरूले ट्राफिकको कन्ट्रोल नम्बर १०३ मा सिटी स्क्वायरको ज्याजति र ट्राफिक प्रहरीको गैरकानुनी र गैरजिम्मेवारीपूर्ण कार्यको बारेमा जानकारी गराए पनि त्यसउपर कुनै छानबिन नभएको र व्यवहारमा पनि कार्यान्वयन नभएको गुनासो गरेका छन्। यस सम्बन्धमा बसपार्कस्थित ट्राफिक प्रहरी प्रमुखलाई सम्पर्क गर्दा उनी भारतमा तालिममा गएको जानकारी दिइयो। निमित्त ट्राफिक प्रमुखलाई यसबारेमा जानकारी माग्दा उनले केही बताउन चाहेन्।

सम्बन्धित समाचार