सिरहा – सिरहाको धनगढीमाई नगरपालिका–३ कुर्वाको मुसहर बस्तीमा खेतमा राखिएको धानको कुन्यूमा आगलागि हुँदा १६ क्विन्टल धान जलेर नष्ट भएको छ । शनिबार राति अज्ञात समूहले खेतमा राखिएको धानमा आगो लगाइदिदा रमेशी सदायको पाँच जनाको परिवारले वर्षभरिको अन्न गुमाएको छ ।
७२ वर्षका रमेशी सदायका अनुसार खडेरीका बेला धेरै खर्च गरेर सिँचाइ गरी खेती गरिएको धान भोलिपल्ट घर भित्र्याउने तयारीमा राखिएको थियो । एकै रातमा वर्षभरि खाने अन्न खरानी बनाइदिएकाले अब परिवार कसरी बाँच्ने भन्ने चिन्ता उहाँलाई छ । उहाँकी श्रीमती भुल्लीदेवी सदायले १ सय ३० बोरा धान त्रिपालमा राखेर कुन्यू बनाइएको बताउँदै त्यसमा कसैले आगो लगाएको दाबी गर्नुभयो ।
कान्छा छोरा लाले सदायले पनि धानसँगै पराल, गुइँठा, चाडपर्वका खर्चदेखि छोराको पढाइसमेत प्रभावित भएको बताउनुभयो । आगो लगाएको आशंकामा परिवारले स्थानीय आशाकुमार रायसहित पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालयमा उजुरी दिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डीएसपी रमेशबहादुर पालका अनुसार घटनास्थलको आवश्यक प्रमाण संकलनसँगै शंकास्पद व्यक्तिहरूलाई सोधपुछ गरी दैनिक हाजिरीमा राखिएको छ ।
धनगढीमाई–३ का वडाध्यक्ष वीरेन्द्रकुमार साहले विपन्न परिवारको अन्न जलाइएको घटनालाई अक्षम्य अपराध भन्दै अपराधी पत्ता लागेको खण्डमा कडा कारबाहीको माग गर्नुभएको छ । धनगढीमाई नगरपालिका मेयर शिवशंकर महतोसहितको टोलीले घटनास्थल निरीक्षण गरी पीडित परिवारलाई राहत उपलब्ध गराइने आश्वासन पनि दिएको वडाध्यक्ष साहले जानकारी दिनुभयो । सदाय परिवार अहिले घटनामा संलग्न व्यक्तिमाथि कारबाही र तत्काल राहतको प्रतीक्षामा छ ।