पर्यटक लक्षित अत्याधुनिक शौचालय पाटन दरबार क्षेत्रमा

4.4k Shares

ललितपुर महानगरले पर्यटकलाइ लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय संचालनमा आएको छ।

नगर प्रमुख चिरीबाबु महर्जनले विधि र प्रक्रिया पूरा गर्दा गर्दा शौचालय निर्माणका लागि केही समय लागेपनि शौचालय निर्माण भएको बताउनुभयो। उहाँले भन्नुभयो, 'हाम्रो सहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौं, यो
शौचालयले अब आन्तरिक र बाह्य पर्यटकका लागि सहज हुन्छ दरबार क्षेत्र।' पाटन घुम्न आउने पर्यटकलाई अब शौचालय खोज्न भौतारिनु नपर्ने उहाँले बताउनुभयो।

महानगर प्रमुख महर्जनले यो शौचालय निर्माण महानगरको मात्रै नभई सम्पूर्ण पालिकाको लागि 'सो केस प्रोजेक्ट' भएको प्रष्ट
पार्नुभयो। यस अघि पाटन दरबार क्षेत्रमा सार्वजनिक शौचालय भए पनि यहाँको आवश्यकतालाई पूर्ति गर्ने किसिमको थिएन।
आधुनिक प्रविधिको अपाङ्गता मैत्री यो शौचालयमा पुरुषको लागि ६ वटा युरिनलसहितको तीन वटा शौचालय, महिलाको लागि ६ वटा शौचालय, १ वटा अपाङ्गतामैत्री शौचालय, १ वटा स्तनपान कक्ष राखिएको छ।

संस्कृति पर्यटन मन्त्रालयका सचिव बिनोद प्रकाश सिंह आन्तरिक र बाह्य पर्यटकलाई शौचालय निर्माणले सहज बनाएको बताउँदै पुरातात्विक मौलिकतालाई प्राथमिकतामा राख्नु महत्वपूर्ण भएको बताउनुभयो। ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले ऐतिहासिक र पुरातात्विक महत्वलाई ध्यानमा राखेर शौचालय निर्माण गरिएको जानकारी उहाँले दिनुभयो, 'शौचालय अत्यन्त आवश्यक कुरा हो,' भन्नुभयो। पर्यटकलाई सुविधा प्रदान गर्दै पुरातात्विक महत्व पनि कायम राख्ने गरी महानगरले अत्याधुनिक पर्यटकीय शौचालय निर्माण गरेको उहाँको भनाइ थियो। महानगरको यो परियोजना सम्पदा र आधुनिकताको मिश्रणयुक्त परियोजना भएको उहाँले बताउनुभयो।

महानगरका प्रवक्ता राजु महर्जनले पूर्वाधार निर्माणका अन्य अवयवहरू मध्ये सार्वजनिक शौचालय एक भएको बताउँदै महानगरका २९ वटा वडामध्ये धेरै वडामा सार्वजनिक शौचालय निर्माण भइरहेको जानकारी दिनुभयो।

'अब हामी आवश्यकता अनुसार बनाउनेछौं,' पूर्वाधार निर्माण महाशाखा प्रमुख प्रदीप पौडेलले पब्लिक स्यानिटेसन सुधार गर्नका लागि यो महत्वपूर्ण परियोजना भएको बताउनुभयो। सम्पदा क्षेत्रको पुरातात्विक मौलिकतामा ध्यान दिँदै शौचालयको बाहिरी बनावटमा काष्ठ कला र चुनासुर्कीसहितको माटो, दचि, र इँटाको प्रयोग गरिएको छ।

शौचालयको छाना झिंगटीको दुई पाखे गरी निर्माण गरिएको छ। महानगरका अनुसार कुल लागत एक करोड २६ लाख रुपैयाँमा शौचालय निर्माण गरिएको हो।

सम्बन्धित समाचार