-बिष्नुबहादुर खड्का क्षेत्री
ब्रह्माण्डका अधिपति देवादिदेव महादेवलाई अलकापुरीका राजा शक (खस) बहादुरले २०० वर्ष तपस्या गरेपछि महादेव खुसी भई आफ्नो ब्रह्माण्डको राज्य मात्र प्रदान नगरी खस बहादुरको नाम देवराज इन्द्र राख्नुभयो। तिनै महाराज इन्द्रले स्वर्गको राज्य आफूले ग्रहण गरेर पृथ्वीको राज्य आफ्ना छोरा मष्टोलाई प्रदान गर्नुभयो। यो कुरा हाम्रो समयका सिद्ध योगी नरहरिनाथले सम्पादन गरेको हिमवत् खण्डमा उल्लेख छ।
मष्टोबारे जे जस्तो भ्रम पार्न खोजिए पनि उनी वेदका रक्षक, इन्द्रका छोरा जसले समुद्र मन्थनको अवसरमा अमृत कलशको रक्षा गरे, उनी पूर्ण रूपमा हिन्दूहरूका आराध्य देव र कुलदेवता हुन्। मष्टोबारे जेजस्ता अज्ञानता देखिए पनि इतिहासबारे जागरुक व्यक्तिहरू र स्वयं मष्टो शरीरमा धारण गर्न सक्ने क्षमता भएका जाग्रत व्यक्तिहरूले दिनप्रतिदिन मष्टोको उज्यालो इतिहासमाथि प्रकाश पार्ने काम तीव्र गतिमा अघि बढिरहेको छ।
खासगरी अहिले मष्टो कुलदेवता प्रतिष्ठानले योजनाबद्ध किसिमले देशका विभिन्न विद्वान्, संस्कृतिविद्हरू भेला गरी बृहद् छलफल र बृहत् भेला तथा संस्थागत गतिविधिहरू तीव्रतर गर्दै लगेपछि नेपालभित्र मात्र होइन विश्वव्यापी रूपमा मष्टोबारे धेरै चर्चा हुन थालेको छ। र यो विवादबीच केही बाह्य विधर्मी तत्वहरूले मष्टो हिन्दू धर्मभित्र पर्दैन भनेर 'मष्ट धर्म' पहाडे नेपालीहरूमध्ये केही निश्चित समुदायका लागि हो भनी वर्तमान धर्म निरपेक्ष बनाइएको राज्य संरचनालाई समेत प्रभावित गरी छुट्टै जनगणना गराई हिन्दू धर्मावलम्बीहरूमा फाटो गराउने प्रपञ्च पनि गरियो। तर मष्टो कुलदेवता प्रतिष्ठान र हाम्रा बौद्धिक नेतृत्वले कठोर रूपमा मष्टो वेदको रक्षक हिन्दूहरूको देव परिवारका अति प्रभावशाली पूज्य देवता हुन् भनी अनेक प्रमाणका साथ आफ्ना विचार राखेपछि आम जनमानसमा यस विषयको भ्रम हटेको छ।
मष्टोले राक्षसबाट अमृतको रक्षा गरेको हुनाले यी कुलायनमार्फत् देवतालाई भोग लगाए मात्र हामीले मानेको देवताले भोग लगाए स्वयम् मात्र हामीले मानेको देवताले भाग पाउने, नत्र नपाउने विधान छ। देवादिदेव महादेवबाट भएको योगी नरहरिनाथ जस्तो सिद्धले दावी गर्नुभएको थियो, त्यसैले हामीले मष्टो मान्नैपर्छ र मष्टो मार्फत् भोग लगाएमात्रै हामीले भोग लगाएका देवताले पाउँछन्। अन्यथा देवताको भेषधारण गरेका ढोंगी राक्षसी तत्वले ग्रहण गरेर पूजाको उल्टो फल मिल्न जान्छ। यसको उदाहरण नेपाल र उसका छरछिमेकीलाई हेर्दा प्रष्ट हुन्छ।
नेपाल संसारमा जेठो राष्ट्र मात्र होइन, मष्टोका कृपाले सधैँ स्वाधीन रहने तर हाम्रा छरछिमेकका कतिपय देशहरू दिन परदिन मासिने, विदेशीको पटक पटक गुलाम हुने र विधर्मीको क्रूर दमनको शिकार हुने प्रपञ्चमा फँसेका देखिन्छन्। यदि नेपालीहरूले पनि मष्टोप्रति जानीनजानी अपमान गरे भने हाम्रो राष्ट्र र जातिकै अस्तित्व मासिन सक्नेछ। त्यसैले मष्टो कुलदेवता प्रतिष्ठानले कुलदेवता अर्थात् कुल र मूलका रक्षक देवताको झण्डा राष्ट्र र जातिको अस्तित्व रक्षाका लागि उठाएको हो र त्यसैले सबै नेपाली मात्र होइन, आम हिन्दू र धार्मिक आस्था राख्नेहरूले मष्टो जगाउनुपर्छ। मष्टो मान्नुपर्छ र मष्टोका १६ बहिनी दुर्गाहरू जगाउनुपर्छ। मष्टोलाई शक्ति दिने ब्रह्मा, विष्णु, महेश्वर अनि मष्टोका मातापिता इन्द्र र मष्टो मण्डलिनीको उचित सम्मान गर्नुपर्दछ।
यदि हामीले आफ्नो धर्म, सभ्यता, जातिको स्वाभिमानको रक्षाका लागि उचित दैवी मार्गमा अग्रसर हुन सकेनौं भने हामी गतिहीन हुनेछौं।फसेको वर्तमान अँध्यारो अवस्थामा मष्टो कुलदेवता प्रतिष्ठानले जे जस्तो राँको बालेर अन्धकार चिर्ने कोसिस गर्दैछ, त्यसलाई संस्कृतिविद्, धर्मगुरु र जागरुक युवाहरूले सचेत रुपमा जानकारी लिन सकुन, मेरो शुभकामना।
मष्टो कुलदेवता मानव जातिका आस्थाका देवता हुन्। फरक यति मात्रै हो आस्थामा जोडिदा आफ्नो चलन छ। कैलाश मानसखण्डबाट विकसित र दीक्षित भएका हामी वा हाम्रो समुदायहरूका आदिमकालदेखि पूजनीय र माननीयका धरोहर मष्टो कुलदेवता हुन्। हामी मानव जातिको वस्ती विकासको क्रममा भौगोलिक बनावटका आधारमा मात्र पूजा विधिमा केही अन्तर आएको हुनसक्छ। अझ हामी खस सदयुदायहरूका मूल देवता मष्टो कुलदेवता नै हुन्। फरक यो छ कि दिग्भ्रमित र आयातित विचार भएकाहरूबाट सत्यतथ्य नबुझी भुलबस अन्जानको कारण फरक विचार राखेका हुनसक्छन्। माथि उल्लेखित आधारहरू लिखित प्रमाण प्रयाप्त नभएता पनि भावपूर्ण साधनाबाट मात्र जानकारी प्राप्त हुने हो। आदिम सनातन धर्म संस्कृतिसँग जोडिएका विषयहरूमा हिन्दू धर्म र मष्टो देवताका सम्बन्धमा कुनै र केही फरक छैन र छैन पनि।
मष्टो देवताको अवतारमा वैदिक वेदका शब्द वाक्य, श्लोकहरू उच्चारण हुन्छन्। यो आदि शक्ति हो। हामी प्रकृतिपूजक पनि सनातन धर्मालम्बी नै हौं। कोही केही चर्चा र चर्चित बन्न र बनाइएका लागि फरक देखिन सक्छन्। विचार राख्नु कुनै ठूलो कुरा होइन। वास्तविकता बुझ्नु नै मुख्य कुरा हो। सनातन हिन्दू धर्म र मष्टोपूजकमा कुनै फरक छैन र होइन पनि। दिग्भ्रमित प्रचारहरू ठूला अथवा केही बौद्धिक जनबाट भ्रमपूर्ण विचारहरू आएका छन्। त्यस्ता विचारकहरूबाट वेद वा हिन्दू धर्म र मष्टोपूजकहरू फरक हो भन्दिनाले नै फरक विचार भएकाहरूलाई अझ मलजल प्राप्त हुन सक्छ।
सनातन, संस्कृति र परम्परा
सनातन धर्म संस्कृति र परम्परामा आधारित कुल पूजा वस्ती विकासका क्रममा केही पूजा विधि फरक हुन सक्छन् तर मष्टो पूजकहरूमा धेरै भिन्नता छैन। परधर्मका वर्तमान अवस्थामा विस्तारवादी र अतिवादीहरू हुन सक्छन्। पूर्खा, परम्पराको संस्कार धर्म कर्तव्य भुलेर छोडेर परधर्म भक्तिभाव देखाउने गरेका छन्। जे देवताले विस्तारै चेतना दिइरहेका छन्, दिनेछन्, हाम्रो प्रार्थना होस् मष्टो।
कुल मष्टो कुलदेवता प्रतिष्ठानले गत राष्ट्रिय जनगणना २०७८ मा सनातन धर्म संस्कृति र परम्पराको रक्षार्थ “कुल हाम्रा मष्टो हुन्, धर्म हाम्रा हिन्दू हुन्” भन्ने लोक भाषामा आधारित गीतबाट धर्मको महलमा हिन्दू लेख्न अनुरोध र चेतनामूलक प्रचार र प्रसार गरिएको थियो, जो निकै प्रभावकारी भयो। यस प्रतिष्ठानको ठूलो उपलब्धि भयो। आगामी दिनहरूमा पनि यस प्रकार मष्टो कुलदेवता प्रतिष्ठानको कर्तव्य र जिम्मेवारी रहने विश्वास दिलाउँछौं। जय मष्टो!