म्याग्दी । बालाचतुदर्शी पर्वको अवसरमा बेनीको प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाममा भक्तजनको भिड लागेको छ । आज बिहानैदेखि शतबीज छर्न, कालीगण्डकी नदीमा स्नान गर्न र गलेश्वर शिवालय मन्दिरको दर्शन गर्ने भक्तजनहरुको भिड लागेको हो ।
गलेश्वर धामस्थित रघुगंगा र कालिगण्डकी नदीको संगमस्थलमा स्नान गरेर शिवालय मन्दिरमा शतबीज छर्ने भक्तजनहरुको कारण गलेश्वर क्षेत्रमा श्रद्धालु भक्तजनहरुको चहलपहल बढेको छ । बाजागाजा र भजनकृर्तन सहित भक्तजनहरु गलेश्वरमा शतबीज छर्न आएका छन् ।

आज बिहान ५ बजे देखि नै पितृउद्धारको कामना गर्दै शिवालय क्षेत्रमा शतबीज छर्नेको भीड लागेको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । शतबीज छर्न भक्तजनहरु मंगलबार राती नै गलेश्वरधाममा आइपुगेका थिए । शिवालयमा शतबीज छर्नाले मृत आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वास गरिन्छ ।
गलेश्वर धाममा शतबीज छर्न यसपाली म्याग्दी, बागलुङ, पर्वत, पोखरा ,झापा, मोरङ, बिराटनगर र काठमाडांै लगायतका जिल्लाहरुबाट भक्तजनहरु आएको कोषका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।
हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रुपमा छर्ने गरिन्छ । उहाँका अनुसार शतबीज छर्न आउने भक्तजनहरुको सहजताका लागि सुरक्षाकर्मी र स्यमसेवकहरु परिचालन गरिएको छ ।
देशभरबाट गलेश्वर शिवालयमा आउने भक्तजनहरुलाई पालैपालो शिवालयको दर्शन गर्न र सहज रुपमा मन्दिर परिसरबाट पवित्र कालीगण्डकी नदीसम्म शतबीज छर्ने वातावरण बनाइएको उहाँले बताउनुभयो ।

साथै बालाचतुर्दशी पर्वका अवसरमा गलेश्वर क्षेत्रमा बाँस र निगालोबाट बनेका डाला,नाङ्ला र दारको काठबाट बनाइएको ठेकी बिक्रीका लागि व्यवसायीहरु समेत आएका छन् ।
बाला चतुर्दशीका अवसरमा शिवालय मन्दिर र परिसरलाई सरसफाई र रंगरोगन गरेर चिटिक्क पारिएको छ । परापूर्वकालदेखि नै गलेश्वर शिवालयमा बालाचतुर्दशी पर्वको अवसरमा शतबीज छर्ने परम्परा र संस्कृति रहेको र शतबीज छर्दा मनोकांक्षा पूरा भइ पुण्य लाभ हुने जनविश्वास छ ।
यस वर्ष बाला चतुर्दशी पर्वमा गलेश्वरमा करिब ३० हजार भक्तजनहरु आउने अनुमान गरिएको छ । कालीगण्डकी नदी किनारमा एउटै नौ रोपनी चक्रशिलामा अवस्थित गलेश्वर शिवालय विश्वकै अलौकिक तिर्थस्थलको रुपमा समेत परिचित छ । 