कुलमान घिसिङसहितको ‘नेपाल जनसेवा पार्टी’ गठनको अन्तिम तयारी

3.8k Shares

काठमाडौं । अन्तरिम सरकारका ऊर्जा मन्त्रीसमेत रहेका कुलमान घिसिङ नेतृत्वमा नयाँ राजनीतिक दल गठनको तयारी अन्तिम चरणमा पुगेको छ ।

लामो समयदेखि विभिन्न समूह र व्यक्तिहरूसँग निरन्तर छलफलमा रहेका घिसिङले अब आफ्नै नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण गर्ने दिशामा ठोस कदम चालेका छन् । स्रोतका अनुसार उनको नेतृत्वमा बन्ने पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्नेबारे मोटामोटी सहमति भइसकेको छ। पार्टीको चुनाव चिन्हका रूपमा ‘बिजुलीको बल्ब (चिम)’ चयन गर्ने तयारी पनि भएको छ।

उक्त नाम र चिन्हले जनताप्रति सेवा भावना र ऊर्जा क्षेत्रबाट आएको नेतृत्वको पहिचान दुवैलाई सन्देश दिने उद्देश्य लिएको बताइएको छ। घिसिङले पार्टी निर्माणमा नयाँ पुस्ता र पहिचानवादी आन्दोलनका समूहहरूलाई समेत समेट्ने रणनीति बनाएका छन् । नयाँ बन्ने जनसेवा पार्टीमा पूर्वउर्जा मन्त्री घिसिङसँगै सुदन गुरुङ समूह, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालय, र संयुक्त पहिचानवादी मोर्चा सहभागी हुने तयारीमा छन् ।

संयुक्त पहिचानवादी मोर्चा अहिले आठवटा पहिचानवादी घटकहरूको साझा प्लेटफर्मको रूपमा सक्रिय छ। यस मोर्चाको समावेशीकरणले नयाँ पार्टीलाई पहिचान, समानता र अधिकारका सवालमा बलियो धारणा निर्माण गर्न मद्दत गर्ने बताइएको छ। पूर्वरास्वपा नेतृ सुमना श्रेष्ठ (सुमना श्रेष्ठ) पनि यो गठबन्धनमा जोडिने वा नजोडिने भन्नेबारे अन्तिम छलफल भइरहेको छ । उनका नजिकका स्रोतका अनुसार केही नीतिगत मतभिन्नता हुँदा समेत पार्टीमा आउने सम्भावना उच्च छ । “सुमनाजी आउन सक्ने सम्भावना धेरै छ, तर केही विषयमा मतभिन्नता रहेको छ। निर्णायक वार्तापछि सबै कुरा फाइनल हुनेछ,” एक स्रोतले भने।

कुलमान घिसिङले सुरुमा आफ्नो पार्टीको नाम ‘उज्यालो नेपाल’ राख्ने प्रस्ताव गरेका थिए। तर जेनजी समूह, मेयर बालेन र सुमना श्रेष्ठले सो नाम अस्वीकार गरेपछि ‘नेपाल जनसेवा पार्टी’ नाममा सहमति जुटेको बताइएको छ । एक नेताले भने, “नाम र चिन्हमा केही विवादका कारण सहमति ढिला भयो । ‘उज्यालो नेपाल’ नाम जेनजी, बालेन र सुमनाजीले स्वीकार गर्नुभएको थिएन । अहिले नयाँ नाम र चिन्हमा सबै सहमत भएका छन्, त्यसैले सुमनाजी पनि आउन सक्ने देखिन्छ ।”

नयाँ पार्टी सोमबार निर्वाचन आयोगमा दर्ताका लागि जाने तयारीमा रहेको स्रोतले जनाएको छ । पार्टी गठनको औपचारिक घोषणा दर्ता प्रक्रियासँगै गर्ने योजना छ । “अब जे भए पनि सोमबार दर्ता गर्ने हाम्रो तयारी छ,” पार्टी निर्माणमा संलग्न एक नेताले भने । पार्टीको नेतृत्वको जिम्मेवारी तत्काल कुलमान घिसिङले नै लिने सम्भावना बढी रहेको छ । तर केही नेताहरूले अन्य संयोजक तोक्ने विकल्प पनि खुला राखेका छन् ।

“अहिले सम्मको छलफलमा कुलमान जी नै नेतृत्वमा रहनुहुने सम्भावना छ। तर यदि नेतृत्वको विषयमा मतभिन्नता भयो भने तत्कालका लागि कुनै संयोजक तोकेर अघि बढ्ने तयारी पनि छ,” एक नेताले जानकारी दिए । कुलमान घिसिङले नयाँ पार्टीलाई पारम्परिक राजनीतिक संस्कृतिबाट अलग पहिचान दिने र जनसेवामुखी मोडेलमा अघि बढाउने तयारी गरेका छन् । पार्टीले सुशासन, पारदर्शिता, प्राविधिक दक्षता र नयाँ पुस्ताको सहभागितामार्फत “नयाँ राजनीतिक अभ्यास” को सुरुवात गर्ने दाबी गरेको छ । स्रोतका अनुसार, पार्टीको घोषणापत्र मस्यौदा तयार पारिसकेको छ, जसमा ऊर्जा, शिक्षा, रोजगारी, र सुशासनका विषयलाई प्राथमिकतामा राखिएको छ ।

सम्बन्धित समाचार