सूर्यादी नौ ग्रहमध्ये देवगुरू बृहस्पतिको स्थान र प्रभाव

6k Shares

डा. पं. रुद्रनाथ अधिकारी

सौर्यमण्डलका नौ ग्रहमध्ये देवगुरू बृहस्पतिको विशेष स्थान छ। जन्मकुण्डलिमा रहेका सम्पूर्ण पाप ग्रहहरूको दुष्प्रभावलाई यिनै बृहस्पतिले आफ्नो दृष्टिले अमृत वर्षा गरी होस् वा युतिद्वारा कुयोग, दुर्योगलाई सुयोग र राजयोग जस्ता योग निर्माण गरी दुखकष्ट एवं विभिन्न विपदाबाट जोगाउने गर्दछ। एउटै ग्रहसँग धेरै विभाग लिएर कुण्डलिका थुप्रै स्थान र भावहरूलाई प्रभाव पार्दछन् र यिनैसँग सर्वाधिक कारकत्व पनि रहन्छ।

जस्तै, सन्तान, विद्या, बुद्धि, धन, अध्यात्म, दान, शील, गुण, परोपकार, पिता, साधना, सिद्धि जस्ता धेरै चीजका कारक हुन्। बृहस्पति धनु र मीन दुई ओटा राशिका स्वामी हुन् भने यिनै दुई राशिमा स्वराशिका हुन्छन् तथा कर्कटमा उच्च र मकर राशिमा नीच भएर रहन्छ। देवगुरू बृहस्पति फरक-फरक भाव, राशि र स्थानानुसार फल र प्रभाव पनि फरक पार्दछन्।

बृहस्पति एक सन्त र अति सौम्य ग्रह हुन्। जस्तो सन्तजनले आफ्नो सुखसुविधाभन्दा अरूको सेवा, परोपकार र लोककल्याणका लागि सोच्ने अनि गर्ने गर्दछन्, त्यस्तैगरी जहाँ बस्दछन्, त्यो भाव नष्ट गर्दछन् भने दृष्टिमा अमृत भएकाले जहाँ दृष्टि गर्दछन्, त्यहाँ अमृत वर्षा गरेर भाग्य चम्काइदिन्छन्। व्यक्ति कत्तिको धार्मिक, ज्ञानी, परोपकारी छ भनेर हेर्नका लागि उसको कुण्डलिमा बृहस्पतिको स्थिति हेर्न आवश्यक हुन्छ।

संज्ञा—
बृहस्पतिसँग ५, ७ र ९ गरी ३ दृष्टि हुन्छन् भने धनु राशि मूलत्रिकोण राशि हो। यिनको गुण—सत्त्व, स्थिर, वर्ण, जाती—ब्राह्मण, रंग—पहेंलो, लिङ्ग—पुरुष, तत्व—आकाश, स्वभाव—अति शुभ, प्रकृति—कफ, धातु—सुवर्ण, रस—गुलियो, दिन बिहीबार, रत्न पुष्पराज र दिशा—ईशान हो। त्यसैगरी बृहस्पतिले भाग्योदय १६ देखि २४ वर्षमा गर्दछन् र प्रभाव जीवनको उत्तरार्ध तथा मोक्षकालमा पनि रहन्छ। बृहस्पतिको दान योग्य सामग्री यस प्रकार छ - पहेँलो अनाज - चनाको दाल, बेसार, मह, पहेँलो ऊनी वस्त्र, मेवा फल, आँप, केरा, सख्खर, धर्म ग्रन्थहरू, केशर, बाछाबाछीसहितकी गौ, पहेँलो कम्बल, बेसनको लड्डु, ताम्र तथा कास्यपात्र आदि।

यदि जन्मकुण्डलीमा बृहस्पति योगकारक भएर पनि शुभफल प्राप्त भईरहेको छैन र भाग्यले साथ दिइरहेको छैन भने निम्न उपायहरू गर्न सकिन्छ -

क. सुन वा चाँदीको औंठीमा सक्कली पुष्पराजको गुरूपुष्य योग वा अन्य बिहिवार गुरू होरा र शुभ मुहुर्तमा सिद्ध गरी दायाँ हातको चोर औंलामा धारण गर्ने।

ख. बिहिवार सुरू गरेर २७ बिहिवारसम्म केशर र बेसार मिसाएर तिलक लगाउने र चोखो पहेँलो कपडामा अलिकति गाठो पारेर पाकेट वा पर्समा राख्नाले तुरुन्त शुभफल प्राप्त हुन सुरू हुन्छ।

अब अशुभ गुरूको अशुभ प्रभाव निवारणको लागि उपाय यसप्रकार रहेको छः

क. बग्दो पानीमा १२ दाना देशी बदाम र एउटा सुख्खा नरिवल पहेँलो कपडामा बाधेर नदिमा प्रवाहित गर्ने।

ख. बिहिबार र शनिबार पिपलको वृक्ष मुनि बसेर गुरूको बीजमन्त्र र गुरू गायत्री पढ्दै जल चढाउँदै गर्ने। चना, मुङ, अरहरको दाल, केरा, पहेँलो फल, बेसार।

ग. बिहिबार वृद्ध ब्राह्मणलाई नौथरी पहेँलो वस्तु—पहेँलो लड्डू, गीताको पुस्तक, ९ मिटर पिताम्बरको कपडामा राखेर संकल्प गरी दान दिने।

घ. आचरण पवित्र राख्ने, शिखा राख्ने, मठमन्दिर, देवालय आदिमा सेवा दान गर्ने।

अघिल्लो लेखमा देवगुरू बृहस्पतिको बारेमा क्रमशः अरू महत्त्वपूर्ण जानकारीसहित प्रत्येक भावको फलादेश राख्नेछु।

नारायण | जय हिन्दुराष्ट्र, जय सनातन।

सम्बन्धित समाचार