डा. रामचन्द्र भट्ट
दैनिक हाम्रो जीवनमा प्रयोग हुने अन्न, तरकारी, फलफूल आदिले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने जानकारी हुनु आवश्यक हुन्छ। जसका लागि परम्परा र स्वास्थ्य विज्ञानबारे जानकारी हुन जरुरी हुन्छ। यसका लागि आयुर्वेदबारे बुझ्नु पर्ने केही तथ्यहरू रहेका छन्। आयुर्वेदबारे शताब्दीऔं पहिले प्रकाशित गरेका यी तथ्यहरू आज पनि व्यावहारिक छन्।
हाम्रो समाजको स्वास्थ्य स्थिति यसै आधारमा अडिएको छ र एक्काइसौँ शताब्दीसम्म भएको विविध वैज्ञानिक आविष्कारहरूले पनि यिनै तथ्यहरूलाई पछ्याएका छन्। आयुर्वेद भन्छ:
आरोग्य मूल साधनम्
मनुष्यले धन दौलत जति जम्मा गरे पनि उसको स्वास्थ्य राम्रो भएन भने अन्य भौतिक साधनको प्रयोग र उपयोगिता सार्थक हुन सक्दैन।
अझैँ पश्चिमी विद्वान्हरू त आरोग्य नै धन हो भनेर स्वास्थ्य जीवनले नै धन पनि प्राप्त गर्न सक्दछ भन्दछन्।
अन्न, तरकारी र फलफूलको विविधताले मानव स्वास्थ्यका विभिन्न पक्षहरूलाई सशक्त बनाउँछ।
**अन्न वर्गको विशेषता**
चामल :
आग्निवर्धक, वलवर्धक, कान्तिवर्धक, धातुवर्धक तथा त्रिदोषहर (त्रिदोषहारी) अन्न मानिन्छ।
यो एक वर्षभन्दा बढी पुरानो भएमा अझ गुणकारी मानिन्छ। यो शीत गुणयुक्त हुन्छ।
गहुँ :
पुष्टिकारक, धातुवर्धक र वलवर्धक हुन्छ। यसले टुटेका हड्डीहरू जोड्न अप्रत्यक्ष सहयोग गर्दछ।
गहुँ गर्मी गुणयुक्त हुन्छ।
मुँगी दाल :
हल्का, कफ र पित्तलाई दूर गर्ने, आँखालाई उपयोगी हुन्छ। रोगीको अवस्थामा अथवा विमारी अवस्थामा यो दाल सेवन उपयुक्त हुन्छ।
मसुराको दाल :
रुचिकारक, रक्तविकार र वायुगोलाको लागि लाभदायक हुन्छ।
मासको दाल :
पौष्टिक तत्वयुक्त, वीर्यवर्धक, आमा भएकाहरूलाई दूध बढाउन उपयोगी हुन्छ।
---
**साग वर्गको विशेषता**
पालुङ्गो :
यसले पेट सफा गर्छ, दम, पित्त, रक्तविकार एवं अल्पतामा उपयोगी हुन्छ।
मेथी :
यो गर्म तरकारी हो। कृमि, कफ, वायु प्रकोपमा हितकारी छ।
काउली :
यो भारीपन हुने तरकारी हो। कुष्ठ, प्रमेह र रक्तविकारमा लाभदायक छ। पिसाब खुलाउने काम पनि गर्दछ।
परवल :
यसले काम शक्तिलाई बढाउँछ। पाच्य र वलवर्धक हुन्छ। कलिलो मुला खानु राम्रो हुन्छ।
आलु :
यसले मल तथा मूत्रलाई बढाउँछ। आलुलाई पोलेर घिउसँग सेवन गर्दा पुष्टिकारक हुन्छ।
काँक्रो :
यो शीतल पदार्थ हो। यसले मूत्र र उदर रोग शान्त पार्दछ।
प्याज :
यो वीर्यवर्धक र निद्रादायक छ। अरुचि, छिणता, रक्तपित्त, वमन, हैजा, कृमिरोग, सुन्निने रोगमा खान लायक हुन्छ।
बेथु :
रुचिकारक, पाचक, अग्निदीपक र हल्का हुन्छ। यो रक्तपित्त र कृमिरोगको समस्यामा उपयोगी छ।
---
**फलफूल वर्गको विशेषता**
आँप : पाकेको आँप खानाले कुष्ठरोग, योनीदोष, व्रण आदिमा लाभदायक हुन्छ। अदुवाको चूर्णसँग सेवन गर्नु फाइदाजनक हुन्छ।
अनार : यो त्रिदोष शामक फल हो। मुखको दुर्गन्ध हटाउन पनि उपयोगी छ। सबै रोग लागेको बेलामा यो पल पथ्य छ।
केरा : यो मांसवर्धक छ। यो पित्त तथा रक्त विकारमा फलदायी हुन्छ।
स्याउ : यो वात र पित्त दोष सामक तथा वीर्यवर्धक छ।
सुन्तला : हरेक दृष्टिले लाभदायी यो फल नसा सुन्निने, अरुचि, वमनमा उपयोगी छ। मन्दाग्नी, खोकी, वायु, पित्त, कफ, क्षयरोग आदिमा यो गुणात्मक छ।
अंगुर : काँचोभन्दा पाकेको अंगुर पथ्यकर हुन्छ। यो आँखाको तेज बढाउन उत्तम छ। धातुलाई पुष्टि गर्दछ।
वेल : यसले कफदोष र खोकीलाई दूर गर्दछ। पेटको शुल या दर्द भएमा आउँ, पखालामा यो फल उपयोगी छ।