गुरु बृहस्पतिको जन्मको रोचक कथा छ। ऋषि अङ्ग्सका तीन पुत्रमध्ये एक थिए उनी। उनकी माता ऋषि अङ्ग्सिसँग निष्ठावान थिइनन्, जसका कारण प्रसवपूर्व एक मृत शिशुको जन्म भयो। मृत शिशु जन्मिएपछि उनी पीडामा परिन्। ऋषि अङ्ग्ससँग माफी मागेर शिशुको जीवनदान मागिन्। ऋषि अङ्ग्सिले क्षमा दिएर आफ्नो जीवन शिशुको शरीरमा राखिदिए। उनै बालक देवगुरु बृहस्पति बने।
वैदिक शास्त्रअनुसार गुरु बृहस्पतिको जन्म ब्रह्माण्डको पहिलो प्रकाशबाट भएको थियो। गुरु बृहस्पतिको दुई पत्नी शुभ र तारा थिए। उनको सात पुत्री छन् जसका नाम देवी शुभ, भानुमती, हविष्मती, माहिष्मती, महामती, अर्चिष्मती, सिनीवाली र राका हुन्। देवी ताराबाट गुरु बृहस्पतिको सात पुत्र र एक पुत्रीको जन्म भयो। उनको भाइकी पत्नी ममताबाट दुई पुत्र कच्छ र भारद्वाज थिए। भारद्वाजको पालनपोषण राजा दुष्यंतले गरेका थिए।
बृहस्पतिलाई अर्थशास्त्रको ज्ञान दिने प्रथम गुरुका रूपमा चिनिन्छ। पौराणिक शास्त्रमा बृहस्पति ग्रहलाई ब्रह्माको प्रतिनिधित्वका रूपमा लिइन्छ। बृहस्पतिबारको दिनलाई गुरुमा समर्पित मानिन्छ र उक्त दिन गुरुको आराधना गरिन्छ। हिन्दू धर्मशास्त्रमा गुरु नै ब्रह्मा, विष्णु अनि गुरु नै भगवान् शंकर भनिएको छ। गुरु नै साक्षात् परब्रह्म भनिएको छ। ज्ञान र सीप ग्रहण गर्न गुरु र गुरुतत्व अनिवार्य हुन्छ। गुरुको गुरुत्व उत्तिकै महत्त्वपूर्ण हुन्छ। गुरुबाट ज्ञान, शील र संस्कार सिकिन्छ। अज्ञानतारूपी अन्धकार हटाएर प्रकाश छर्ने अर्थ हो गुरु। संस्कृति शब्दमा 'गु' को अर्थ अन्धकार र 'रु' को अर्थ प्रकाश छर्ने हो। यसबाट पनि गुरुको अर्थको व्यापकता बुझ्न सकिन्छ। गुरु ज्ञान, शिक्षक, सन्तान, दाजु, शिक्षा, धार्मिक कार्य, पवित्र स्थल,धन, दान, पुण्य, वृद्धि आदिका कारक हुन्। गुरु मातापिता जत्तिकै पूजनीय हुन्छन्। अर्जुनले त कुनै पनि परीक्षामा परिचय दिँदा आफूलाई गुरु द्रोणको शिष्यको रूपमा मात्र उल्लेख गरेका छन्। यसकारण पनि गुरुको महानतम महिमा बुझ्न सकिन्छ। यस अर्थमा पनि देवताका गुरु बृहस्पतिको विशेष स्थान रहेको छ।
बृहस्पति वैदिक मन्त्र बिना प्राण प्रतिष्ठित हुन सक्दैन। ज्योतिषशास्त्रका अनुसार, जस व्यक्तिलाई बृहस्पति ग्रहको कृपा मिल्छ, त्यो व्यक्तिमा सात्विक गुणको विकास हुन्छ। यही प्रभावबाट व्यक्ति सत्य मार्गमा चल्छ। जस व्यक्तिको जन्म कुण्डलीमा बृहस्पति ग्रह मजबुत अवस्थामा हुन्छ, त्यो व्यक्तिको जीवनमा प्रगति हुन्छ। गुरु बृहस्पतिको आशिर्वाद प्राप्त व्यक्ति अवश्य पनि प्रभावशाली हुन्छ। जस व्यक्तिको लग्न भावमा देवगुरु स्वयं विराजमान हुन्छन्, त्यो व्यक्ति भाग्यशाली हुन्छ। व्यक्तिमा आकर्षण बढ्छ। यस्तो व्यक्ति उच्च शिक्षित, ज्ञानवान र उच्च विचारको हुन्छ। बृहस्पति गुरुको प्रभावबाट व्यक्ति धार्मिक तथा दान पुण्य गर्ने स्वभावको हुन पुग्छ। व्यक्तिमा भ्रमणको आनन्द मिल्छ र आध्यात्मिक ज्ञान पाउने चाहना जागिरहन्छ। धनधान्य हुन्छ त्यस्तो व्यक्ति।
बृहस्पति मन्त्रको नियमित जपबाट स्वयं भगवानको सिधा कृपा सुनिश्चित हुने विश्वास गरिन्छ। मन्त्र उच्चारणले व्यक्तिको जीवनमा गहिरो प्रभाव पार्दछ। ज्ञान र बुद्धि भरिन्छ। ज्ञान, समृद्धि, सुस्वास्थ्य, भाग्य, सकारात्मकता, धर्म, लोकप्रियता, शान्ति र खुशीसँग गुरु बृहस्पतिको सम्बन्ध छ। गुरु बृहस्पतिको प्रार्थना र पूजाबाट यावत् गुण प्राप्त हुन्छ। गुरु बृहस्पति भगवान् ब्रह्माको एक हिस्सा भएकाले ब्रह्ममुहूर्त ४ देखि ५ बजेको आसपास बृहस्पति मन्त्रको जप उपयुक्त हुन्छ।