धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका अध्यक्षको गाडी ठक्कर दिँदा दुई जना घाइते भएका छन्। गाउँपालिका अध्यक्षको गाडीले ठक्कर दिँदा सध्या घिमिरे र भोलादेवी राना मगर घाइते भएका हुन। उनीहरु दुवै जना गाउँपालिकाले करार र अस्थायी कर्मचारीको सम्झौता रद्ध गरेपछि रोजगारी गुमेका कर्मचारी हुन् ।
गाउँपालिकामा वार्ताका लागि पुगेका उनीहरुलाई गाउँपालिका अध्यक्ष आफैले चलाएको गाडीले ठक्कर दिएको हो। गाउँपालिका अध्यक्ष वार्तामा नबस्ने अडान राख्दै भाग्न खोज्दा उनीहरुले गाडी छेक्दा दुर्घटना भएको हो।
गाउँपालिकाले गत असोज २१ गते एक सुचना जारी गर्दै अस्थायी र करार कर्मचारी सम्झौता रद्ध गरेको थियो। सो पछि सम्झौता रद्ध भएका कर्मचारीहरुले असोज २६ गते गाउँपालिकामा ४ वुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका थिए। ज्ञापन पत्रमा चालु आर्थिक वर्षको बजेटमा सम्पूर्ण करारका कर्मचारीका लागि स्रोत सुनिश्चितता भएकोले निरन्तरता दिनुपर्ने, असोज २१ गतेको सुचनामा दरबन्दी बाहेकका कर्मचारीको हकमा मात्रै लागु हुने उल्लेख हुनुपर्ने, दरबन्दी बाहेकका कर्मचारी हटाएकोमा पुन विज्ञापन गरी सोही पदमा कर्मचारी राख्न नपाउने र दरबन्दी बाहेक पनि लामो समयदेखि कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीको योगदानको सम्मान गर्दै विदाइ गरिनुपर्ने माग गरेका थिए।
ज्ञापन पत्र अनुसार गाउँपालिकाले कुनै सुनुवाइ नगरेपछि उनीहरुले आइतबार गाउँपालिका अध्यक्ष छत्र सुब्बा र प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बहादुर घिमिरेको कार्यकक्षमा तालाबन्दी गरेका थिए। सो पछि सोमबार वार्ताका लागि भन्दै प्रहरी चौकी जोरपाटीमा कार्यरत असइले बोलाएपछि उनीहरुले गाउँपालिकाको कार्यालयमा भेला भएका थिए।
उनीहरु गाउँपालिका कार्यालय नजिकै आएपछि गाउँपालिका अध्यक्ष सुब्बाले आफूले प्रयोग गर्ने गाडी चढेर भाग्दा गाडी रोक्न अगाडी जाँदा घिमिरे र मगर घाइते भएको बताइएको छ। उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ। गाउँपालिका अध्यक्ष आफैले चलाएको गाडीले उनीहरुले ठक्कर दिएको सम्झौता रद्ध भएकी शिक्षक मञ्जु आचार्यले जानकारी दिइन। छलफलबाट समस्याको समाधान गरौ भन्दा अध्यक्ष ज्यू भाग्न खोज्दा घटना भएको उनको भनाइ छ।
यस विषयमा गाउँपालिका अध्यक्ष सुब्बाले माथिल्लो निकायलाई समस्याको समाधान गर्न जानकारी गराइ सकेको जानकारी दिए ।