स्वास्थ्य सचिव देवकोटा मुछिएको आइरन चक्की खरिदसम्बन्धी ११ करोड घोटालाको अख्तियारमा उजुरी

8.1k Shares

काठमाडौं । स्वास्थ्य सचिव डा. विकास देवकोटा मुछिएको आइरन चक्की खरिदमा भएको ११ करोड घोटालाको अख्तियारमा उजुरी परेको छ । सचिव डा. देवकोटा र स्वास्थ्य विभागका महानिर्देशक टंक बराकोटी सहितको टिमले बजार मूल्यभन्दा दोब्बर बढी दरमा फोलिक एसडसहितको आइरन चक्की (ट्याब्लेट) मा ११ करोडभन्दा बढी भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।

उजुरीमा डा. देवकोटा सहितको टिमले कृतिम माग खडा गरी २१ करोड ५० लाख ट्याब्लेट एकैपटक खरिद गर्नेगरी बोलपत्रमा प्रकाशित गरेको र त्यसमा एउटै मात्र उत्पादक कम्पनीलाई मिल्ने गरी १५ करोड गोटा बिक्री गरेको हुनुपर्ने सर्त राखी प्रतिगोटा ३५ देखि ४० पैसामा बिक्री हुँदै आएको औषधिको मूल्य प्रतिगोटा ८५ पैसा राखेर बोलपत्र सदर गरेको उल्लेख छ ।

अख्तियारमा परेको उजुरीमा सुत्केरी महिलाले प्रयोग गर्ने आइरन चक्की अत्यावश्यक औषधि खरिद निर्देशिकाको दफा ४३ बमोजिम स्थानीय सरकारले खरिद गर्नुपर्ने भए पनि व्यवसायीहरुसँगको मिलेमतोमा सातै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयमा आवश्यकताको वास्तविकता नहेरी केन्द्रबाटै ठूलो परिणाममा खरिद गर्नको लागि बोलपत्र प्रकाशित गरेको उल्लेख छ ।

यसअघि सो औषधि स्वास्थ्य विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले केन्द्रबाट खरिद नगरी स्थानीय/प्रदेश सरकारले खरिद गर्नुपर्ने भनि स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिसकेको भए पनि स्वास्थ्य मन्त्रालयले निहित स्वार्थ समूहको मिलोमतोमा स्वास्थ्य सेवा विभागलाई बजेट पठाई केन्द्रबाट खरिद गर्न निर्देशन दिएको उजुरीमा बताइएको छ ।

उजुरीमा एउटै कम्पनीलाई दिनेकै लागि औषधिको लागत मूल्य निर्धारण गर्दा बोलपत्रमा भाग नलिने व्यवसायीको स्वार्थमा तीन उत्पादक कम्पनी जसको तत्कालीन अवस्थामा डब्लुएचओ–जिएमसप नवीकरण नभएका कम्पनीबाट कोटेसन लिएर स्वार्थ मिलेको कम्पनीलाई ठेक्का दिइएको उल्लेख छ ।

मिलोमतोमा बोलपत्र प्रकाशित भएकोले प्रतिस्पर्धी बनाउन व्यवस्थापन महाशाखामा विभिन्न व्यवसायीले निवेदन दिएको तर निवेदनमाथि कुनै सम्बोधन नै नगरिएको भन्दै उजुरीमा मूल्य निर्धारण गर्दा समेत संलग्न नहुने ३ उत्पादकबाट मूल्य लिएर कानुन सम्मत देखाई मिलेमतोमा रेट राखिएको उल्लेख छ ।

सचिव डा. देवकोटालाई यसअघि पनि आफू मन्त्रालयमा सचिव भएर आएलगत्तै आफ्नै श्रीमती बिष्णु भुजेललाई विनाप्रतिस्पर्धा अधिकृतस्तरको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको नर्सिङ क्याम्पसमा नर्सिङ प्रशिक्षक नियुक्त गरेको आरोप लाग्दै आएको छ ।

आर्थिक राष्ट्रिय दैनिकबाट 

सम्बन्धित समाचार