मुक्तिनाथ (मुस्ताङ) । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) गुरूङले रैथाने बाली फापर भित्र्याएर जौ र उवा लगाउने तयारीमा हुनुहुन्थ्यो । विगत तीन वर्षसम्म हिमपात नहुदाँ निराश गुरूङ यसपटक खेतीपातीको समयमा हिमपात भएपछि निकै उत्साहित हुनुहुन्छ ।
दसैँतिहारमा स्याउ र च्याङ्ग्रा बिक्री गर्नुभएका गुरूङले यसपटक अन्नबाली, फलफुल रचरन क्षेत्रमा समेत घाँसलाई वर्षा र हिमपातका कारण राम्रो हुने बताउनुभयो । खेतपातीको समयमा हिमपात र वर्षाले स्वागत गरेपछि मुस्ताङका कृषक उत्साह छाएको छ । तल्लो मुस्ताङमा जौ र उवा लगाएपछि आलु खेतीका साथै स्याउलगायत अन्य फलफुल खेतीमा सक्रिय कृषकले हिमपात र वर्षाले राहत महसुस गरेको बताएका छन् ।
तल्लो मुस्ताङको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिमा दुईबाली हुन्छ भने उपल्लो मुस्ताङको उपल्लो मुस्ताङका लोघेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा एक बाली हुन्छ । यो समयमा परेको हिमपात र बर्षाले सुख्खा जमिनलाई चिस्यानका लागि राहत भएको वारागुङ मुक्तिक्षेत्र–१ मा पर्ने खिङ्गा गाउँका कृषक छेवाङ नयन गुरूङले बताउनुभयो ।
गुरूङ भन्नुहुन्छ, ‘‘भारी हिमपातले स्याउको बोटमा असर गर्छ, खेतबारी र चरनक्षेत्रमा घाँसलाई भने बरदान सावित भएको छ ।’’ कृषकलाई सबैभन्दा राम्रो पुस र माघ महिनाको हिमपातले हुने वारागुङ मुक्तिक्षेत्र–१, प्रमेश गुरूङले बताउनुभयो ।
विगतमा हिमपात भएका वर्षहरूमा गाउँमा अन्नबालीको उत्पादन वृद्धि भएको कारण यसपटकको मुक्तिनाथ मन्दिरसम्म बाख्लो हिमपात भएकाले यस क्षेत्रका कृषकलाई धेरै राहत मिलेको वडा अध्यक्ष गुरूङको भनाइ छ । पुसमाघको हिमपात लामो समयसम्म जमिनमा जमेर बस्दा बाली नष्ट गर्ने किरालाई समेत क्षती पु¥याउने र उत्पादन वृद्धि हुन्छ । कृषि ज्ञान केन्द्र मुस्ताङका केन्द्र प्रमुख राजेश गुरूङले मुस्ताङका कृषकलाई सिजन अगाडि नै हिमपातले स्वागत गरेको बताउनुभयो ।
प्रमुख गुरूङ भन्नुहुन्छ, ‘‘प्रयाप्त सिँचाइको अभावमा गुज्रिएका कृषकमा उत्साह छ, एकबाली हुने उपल्लो क्षेत्रमा हिमपातले माटोको चिस्यान समेत कायमै राख्छ ।’’ कृषि ज्ञान केन्द्रले तल्लो क्षेत्रमा खेतीबारी काट्ने, सुकाउने र थन्क्याउने चटारोमा रहेका कृषकलाई हिमपात र वर्षाका कारण भएको क्षतिको विवरण सङ्कलन समेत गर्ने प्रमुख गुरूङको भनाइ छ । मुस्ताङमा समुन्द्री सतहदेखि २५ सय मिटर उचाइदेखि माथिसम्म जौ, फापर, उवालगायतका बाली लगाइन्छ । यसैबिच उपल्लो मुस्ताङमा जाडोको समयमा बेसी झर्ने कृषकले फागुन महिनामा फर्किएपछि खेतबारीमा अन्नबाली लगाउँछन् । जनशक्ति नहुँद मुस्ताङमा म्याग्दी, रोल्पा, डोल्पासहित विभिन्न जिल्लाबाट घरमा बसेर खेतरबारीको जिम्मा लिन जानेको सङ्ख्या बढेसँगै मुस्ताङका गाउँमा खेतीयोग्य जमिन बाँझो राख्नेको सङ्ख्या घटेको छ ।
यता मुस्ताङमा भेडाच्याङ्ग्रा र घरपालुवा पशुचौपायालाई जलवायु परिवर्तनका कारण प्रयाप्त घाँस नहुदाँ सङ्ख्या घटिरहेको अवस्थामा सिजनमा नियमित हिमपात भएमा चरन क्षेत्रका घाँसको अभाव नहुने भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका प्रमुख डा.लालमणी अर्यालले बताउनुभयो । प्रमुख अर्यालले भन्नुभयो, ‘‘चरनक्षेत्र हिउँले छपक्कै छोपेको राम्रो हो, यहाँ केहीवर्ष नियमित हिमपात नहुदाँ चरन क्षेत्रमा असर देखिएको थियो ।’’ सोमबार र मङ्गलबार हिमपात भएपछि मुस्ताङको भ्रमणमा गएका पर्यटकले समेत हिउँमा खेलेर रमाएका थिए । मुस्ताङमा हिमपातसँगै चिसो बढेको छ । आगामी मङ्सिरदेखि फागुन महिनासम्म अत्याधिक चिसोका कारण जनजीवन कष्टकर हुन्छ ।