छठमा चढाइने कृषिजन्य तरकारी तेब्बरमा बिक्री, छैन अनुगमन

6.4k Shares

राजविराज। छठ पर्वमा प्रसादको रूपमा प्रयोग हुने तरकारीजन्य उत्पादनहरूको मूल्य तेब्बरले वृद्धि भएको छ। सामान्य दिनको तुलनामा छठमा चढाइने लौका, फुलकोबी, भण्टा, मूला र फर्सी तेब्बर दरमा बिक्री भइरहेको उपभोक्ता डोमन साह बताउनुहुन्छ ।

तरकारी व्यापारीहरूका अनुसार पछिल्लो समयमा परेको लगातार भारी वर्षाले स्थानीय बाली नष्ट गरेपछि बजारमा तरकारीको आपूर्ति घटेको छ। यही कारण मूल्यमा तीव्र वृद्धि भएको हो।

राजविराजका किसान रामचन्द्र महतो भन्छन्, “यो वर्ष वर्षाको कारण लौका, भण्टा, फुलकोबी जस्ता मौसमी बाली लगभग सखाप भयो। केही मात्र जोगाउन सकेका छौं, त्यसैले मूल्य बढ्नु स्वाभाविक हो।”

यता व्यापारी रामु साहले भन्नुभयो, “स्थानीय उत्पादन नपुग्दा हामी बाहिरी जिल्लाबाट तरकारी ल्याउँछौं। सुनसरीको इनरुवा, धनुषाको ढल्केवर, सर्लाहीको लालबन्दी, उदयपुरको गाईघाट र मकवानपुरको हेटौंडाबाट ढुवानी गर्दा भाडा, मजदुरी र पेट्रोल खर्च धेरै पर्छ। त्यसैले महँगोमा बेच्न बाध्य छौं।”

हाल बजारमा लौका प्रति थान २५० देखि ३५० रुपियाँ, भण्टा प्रति किलो १४० रुपियाँ, फुलकोबी प्रति किलो १८० रुपैयाँ, मूला प्रति किलो ११० रुपियाँ र फर्सी प्रति किलो ८० रुपियाँमा बिक्री भइरहेको छ। यो मूल्य अन्य दिनको तुलनामा तेब्बर मात्र होइन, कतिपय वस्तुमा चार गुणासम्म वृद्धि भएको उपभोक्ताहरू बताउँछन्।

राजविराजकी गृहिणी सुनितादेवी मंडल भन्छिन्, “छठमा प्रसाद चढाउनका लागि लौका र फुलकोबी चाहिन्छ। तर बजारमा गएर हेर्दा मूल्य सुनेरै छक्क पर्‍यौं। परिवारका सबै सदस्यको लागि प्रसाद तयार गर्न मात्र हजारौं खर्च पर्छ।”

यता, चाडबाडमा लक्षित बजार अनुगमन टोली यतिखेर कतै भेटिदैन । यसले छठ पर्वमा अत्यधिक नाफा लिन खोज्ने व्यापारीहरु को लागि राम्रो अवसर पाए जस्तो भएको छ।

स्थानीय किसानहरू भने निराश छन्। सप्तरीको तिलाठी, हनुमाननगर, कोशीटप्पु आसपासका क्षेत्रका किसानहरूका अनुसार असिनापात र लगातारको वर्षाले फुलकोबी, भण्टा, लौका लगायत बालीमा ठूलो क्षति पुर्‍याएको छ। किसान रामेश्वर यादव भन्छन्, “तरकारी बेचेर छठको खर्च चलाउने सोच थियो, तर यस वर्ष बाली नै नष्ट भयो। अब बजारमा उपभोक्ताले महँगो तिरेर खानुपर्ने भयो।”

मूल्यवृद्धिका बाबजुद बजारमा किनमेलको चहलपहल भने बढ्दै गएको छ। नहाय–खाय विधि सम्पन्न भएसँगै ब्रतालुहरू प्रसादका सामग्री खरिदमा व्यस्त देखिन्छन्। बजारमा लौका, फुलकोबी, मूला, अदुवा, केरा, उखु, नारिवल लगायतका वस्तुको माग अत्यधिक छ।

राजविराजसहित सप्तरीका सबै प्रमुख बजार अहिले “छठ विशेष बजार” बनेका छन्। व्यापारी र उपभोक्ता दुवैलाई मूल्यले तातो बनाएको भए पनि, श्रद्धा र विश्वासको यो पर्वको तयारी उत्साहका साथ भइरहेको देखिन्छ।

सम्बन्धित समाचार