कञ्चनपुरको पिपलाडीमा धान काटेपछि लसुन रोपिदैँ

7.8k Shares

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान धान काटेपछि लसुन रोप्न व्यस्त छन् । धान काटेपछि त्यहि खेतमा खनजोत नगरी सिधै धानको गाँजमै कुटोको सहायताले लसुन रोप्ने गरिएको जनकलाल डगौराले बताउनुभयो ।

धान काटिसकेपछि चिस्यान रहेको खेतमा सिधै गाँजको बीचमा कुटोको सहायताले लसुनका पोटी (केस्रा) रोप्ने गरिन्छ । कृषि प्राविधिकको सल्लाहमा शून्य खनजोत अर्थात् जिरो टिलेज प्रविधि अपनाउन थालेको र यसबाट राम्रै आम्दानी लिने गरेको डगौरा बताउनुहुन्छ । उहाँले पाँच कट्ठा जग्गामा लसुन रोप्ने गर्नुहुन्छ । जसबाट ९० हजार जतिको आम्दानी हुने गरेको डगौराको भनाइ छ ।

अर्का किसान विनोद डगौराले पनि यसैगरी लसुन रोप्ने गरेको बताउनुभयो । पिपलाडीका हरेकजसो परिवारले एकदेखि पाँच कट्ठासम्म जग्गामा जिरो टिलेज प्रविधिबाट लसुनखेती गर्दै आएका छन् । एक कट्ठामा झण्डै दुई क्विन्टलसम्म उत्पादन हुने र सिजनमा प्रतिकिलो तीन सय रुपैयाँभन्दा धेरैमा बिक्री हुने गरेको उनीहरु बताउँछन् । चुन्नुलाल डगौराका अनुसार धानको गाँजमा बढेको लसुनको गानो ठूलो र खानमा स्वादिलो हुने भएकाले बजारमा चाँडै बिक्री हुन्छ ।

जिरो टिलेज खेती प्रविधिले खेत जोत्नुपर्ने झन्झट र लागत घटाएको नगरपालिकाको कृषि शाखाका कृषि विकास अधिकृत विनयराज जोशीले बताउनुभयो । जिरो टिलेज प्रविधिमा गरिने लसुनखेतीमा थोरै परिश्रममा धेरै आम्दानी हुने भएकाले पिपलाडीसहित नगरपालिकाको अन्य क्षेत्रका किसानको आकर्षण बढ्दै गएको छ । अधिकृत जोशीका अनुसार जलवायु अनुकूलनका दृष्टिबाट पनि यो प्रविधि अत्यन्त प्रभावकारी उपायका रुपमा रहेको छ ।

सम्बन्धित समाचार