सुशासन र विकासको आधारशीला तयार भएको छ : प्रधानमन्त्री कार्की

7.5k Shares

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र विकासको आधारशीला तयार भएको बताउनुभएको छ । तिहार, म्हं पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६, छठ लगायतका पर्वको अवसरमा शुभकामना सन्देशमार्फत् उहाँले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले कठिन परिस्थितिमा एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति नै हो भन्दै शुभकामना सन्देशमा कुनै पनि भ्रममा नपरी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ चुनावको वातावरण बनाउन लागि परेको र यसका लागि राजनीतिक संवाद र सुरक्षास्थिति सुधारको काम सन्तोषजनक ढङ्गले अघि बढिरहेको उल्लेख गर्नुभएको छ ।

आउँदो फागुन २१ मा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस् कदम चाल्ने र जेन–जी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य नै सरकारको प्राथमिक जिम्मेवारी रहेको उहाँको भनाइ छ । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि तिहार पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सम्बन्धित समाचार