राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडियो वैदेशिक रोजगार सूचना प्रणाली

6k Shares

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई दिइने अभिमुखीकरण तालिम राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीमा जोडिएको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट सञ्चालनमा ल्याइएको एनआईडी प्रणालीमा जोडिएको हो ।

पर्सि बुधवारदेखि यो प्रणाली अनिवार्य गर्न लागिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसबाट तालिम प्रदायक संस्थाले वास्तविक सेवाग्राहीलाई मात्र तालिम दिनुपर्ने, वैदेशिक रोजगारीमा जाने व्यक्तिको तथ्याङ्क एकीकृत रुपमा प्राप्त गर्न सकिने, वैदेशिक रोजगारमा जाने व्यक्तिलाई गन्तव्य देशको भौगोलिक, भाषिक, सांस्कृतिक तथा ट्राफिक नियमबारे सामान्य जानकारी गराउने काम हुन्छ । यात्रा पूर्वको तयारी र यात्राको क्रममा पूरा गर्नुपर्ने प्रक्रिया तथा वैदेशिक रोजगारीको सिलसिलामा आउन सक्ने समस्या र समाधानका उपायकाबारेमा जानकारी गराइन्छ ।

श्रमिकले गर्न हुने र गर्न नहुने काम तथा रोजगारदातासँग करार गर्दा ध्यान दिनुपर्ने विषयसँगै श्रमिकले पाउने सेवा सुविधा एवम् वित्तीय साक्षरताबारेमा जानकारी गराउने जस्ता काम भई वैदेशिक रोजगार अझ बढी सुरक्षित, व्यवस्थित र मर्यादित हुने विभागको विश्वास छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले अबदेखि अभिमूखीकरण तालिममा वास्तविक व्यक्ति पहिचान भएपछि मात्र ब्याच हाल्न मिल्ने र व्यक्ति स्वयं उपस्थित भई कक्षामा सामेल हुनुपर्ने बाध्यकारी व्यवस्था लागू भएको बताउनुभयो ।

यसका लागि वैदेशिक रोजगारमा जाने व्यक्ति श्रम स्वीकृतिको प्रणालीमा आउनुपहिले राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीमा आवद्ध भईसकेको हुनुपर्नेछ । भट्टराईका अनुसार पहिलो चरणमा अभिमूखीकरण तालिममा व्यक्ति पहिचानमा मात्र प्रणाली आवद्ध गरिएको र आउँदा दिनमा क्रमशः श्रम स्वीकृति, स्वास्थ परिक्षण र अध्यागमनको प्रणालीसँग आवद्ध गरी वास्तविक व्यक्ति पहिचान गर्न सकिनेछ । आँखाको रेटिना पढ्ने आईरिस प्रणाली जडान गरेर तालिम प्रदान गर्दै आएका संस्थाहरूलाई एनआईडी प्रणालीमा जोडिएको हो । 


 

 

सम्बन्धित समाचार