यात्रुवाहक बसबाट खसेर सहचालकको मृत्यु

7.8k Shares

सिराहा । सिराहामा  बसबाट खसेर सहचालकको मृत्यु भएको छ । बिहीबार बिहान धनगढीमाई नगरपालिका–९ जिरोमाइल नजिकै पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको बसबाट खसेर सहचालकको मृत्यु भएको हो । 

ना.७ ख २६५ नम्बरको यात्रुवाहक बसका सहचालक लहान नगरपालिका–१ निवासी २१ वर्षीय पवनकुमार यादवको उपचारका क्रममा मृत्यु भएको हो । बसको पछाडिको चक्काले किचिँदा उनी गम्भीर घाइते भएका थिए ।

घटनापछि स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंह को नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । घाइते यादवलाई तत्कालै नजिकैको प्रादेशिक अस्पताल लहान पुर्याइए पनि बिहान ११ः५५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

बसका चालक ४० वर्षीय लक्ष्मी महतोलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । उनी हाल अस्थायी प्रहरी चौकी कसहा, सिराहाको नियन्त्रणमा छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहाकाअनुसार घटनास्थल इलाका प्रहरी कार्यालय धनगढीबाट करिब ३ किलोमिटर पश्चिमतर्फ पर्छ । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक शिव कटेलको कमान्डमा अपराध अनुसन्धानको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार