काठमाण्डौ – गएको भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनले देशको भौतिक संरचना, मानवीय क्षति मात्र भएन पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको छ । पर्यटकीय पूर्वाधार होटललगायत क्षेत्रमा ठूलो क्षति हुन पुगेपछि यो क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुग्यो ।
पर्यटकीय ‘सिजन’ को शुरूआती चरणमा भएको यो आन्दोलनले पर्यटन व्यवसायी पनि निराश जस्तै छन् । विस्तारै शान्तिपूर्ण अवस्था बन्दै गएपछि विषम परिस्थितिबाट गुज्रिएको यो क्षेत्र पुनः पुरानै लय फर्किने आशा पलाएको छ । यो क्षेत्र बिस्तारै पुनरूत्थानको दिशामा अघि बढ्ने यस क्षेत्रका व्यवसायीहरू आशावादी देखिन थालेका छन् । धेरैजसोले देशमा सुशासन, भष्ट्राचार नियन्त्रणलगायत मागसहित जेनजी पुस्ताले गरेको प्रदर्शनलाई चुनौतीसँगै अवसरका रूपमा पनि लिनुपर्ने आशावादी सन्देश दिन थालका छन् ।
भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको देशको पर्यटन बिस्तारै पुरानै लयमा फर्किएजस्तो यो अवस्थाबाट पनि पार लाग्ने धेरैजसोको बुझाइ छ । ‘पछिल्लो विकसित परिस्थितिले पर्यटनलाई पुनः कमजोर बनायो, तर पनि पर्यटन क्षेत्रमा असीमित अवसर छन् । तिनलाई पछ्याउन सके आशाका किरणहरू चाँडै देखिने छन् । पर्यटनमा जेनजी प्रदर्शन असङ्गठित युवापुस्ताको परिवर्तनको उत्कट चाहना भएकाले यसले निम्त्याएको सङ्क्रमणलाई विगतका विपद्सँग तुलना गर्नुहुँदैन’, सरोकार भएकाहरूले भन्ने गरेका छन् ।
अब पर्यटनलाई दिशाबोध गर्न सरकार र निजी क्षेत्रले सामूहिक प्रयत्न गर्न जरूरी रहेको जानकारहरू बताउँछन् । यसका लागि सार्वजनिक निजी साझेदारितालाई फराकिलो बनाउँदै पर्यटन पुनरूत्थानका लागि काम गर्न पर्यटक क्षेत्रका अगुवा संस्थाहरू सक्रिय भइसकेका छन् । नेपाल पर्यटन बोर्डको अगुवाइ र सक्रियतामा निजी क्षेत्रका पर्यटन व्यवसायीको छाता सङ्गठन, पर्यटनविद् एवम् सरोकार भएकाहरूबीच पुनरुत्थानका विभिन्न उपायको खोजी शुरू भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, होटल सङ्घ नेपाल, नेपाल एशोशिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्न (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोशिएसन अफ नेपाल (टान), प्यासिफिक एशिया ट्राभल एशोशिएसन (पाटा) नेपाल च्याप्टर, नेपाल एशोशिएसन अफ र्याफ्टिङ एजेन्टस् (नारा) लगायतका संस्थाले पर्यटन पुनरूत्थानका लागि पहल कदमी लिएकाले चाँडै यो क्षेत्रले लय समात्ने धेरैको बुझाइ छ । यी संस्थाको पहलमा चरणबद्ध छलफल गरी पर्यटनलाई पुरानै लयमा फर्काउने प्रयत्न भइरहेको पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली बताउनुहुन्छ ।
उहाँ पर्यटन क्षेत्रलाई पुनर्जीवन दिनका लागि नीतिगत अड्चन फुकाउन मन्त्रालय प्रतिबद्धताका साथ लागेको र यसमा निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउनुहुन्छ । ‘पर्यटन क्षेत्रको पुनरुत्थानका लागि आवश्यक सुधार गर्न तत्काल पहल थालिएको छ । नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश देश विदेशमा फैलाउन आवश्यक पहल गर्न हामी काममा जुटिसकेका छौँ’, सचिव मैनालीले भन्नुभयो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले विगतका विपद् तथा विभिन्न सङ्कटका समयमा पनि नेपालको पर्यटन क्षेत्र पुनरुत्थान भएको उदाहरण दिँदै आत्मविश्वासका साथ सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतको अनुभवका आधारमा पर्यटन क्षेत्र चाँडै पुनरूत्थान हुनेछ । पर्यटनसँग आबद्ध अन्तरराष्ट्रिय सङ्घसंस्थाहरूको सहयोगमा चाँडै नेपालको पर्यटन पुरानै लयमा फर्किनेछ ।’ सीइओ जोशीले विश्वका अन्य देश र विशेषगरी दक्षिण एशियाली मुलुक श्रीलङ्काले कोरोना महामारीका साथै आर्थिक मन्दीले थलिएको पर्यटनलाई चाँडो पुनरूत्थान गरेको उदाहरणबाट सिक्दै नेपाल पनि अगाडि बढ्ने बताउनुहुन्छ ।