घोराही, भदौ २९ गते । दाङको बबई गाउँपालिकाले चोरी भएका सामग्री फिर्ता गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जोखिम वलीले सूचना जारी गर्दै हालैको जेन–जी आन्दोलन र त्यसबाट उत्पन्न सिर्जित परिस्थितिका क्रममा गाउँपालिकाबाट विभिन्न सामग्री हराएको तथा चोरी भएको भन्दै उक्त सामग्रीहरु फिर्ता गर्न आग्रह गर्नुभएको हाे ।
सूचनामा कार्यालयका कम्प्युटर, ल्यापटप, प्रिन्टर मेसिन,कुर्सी लगायतका महत्वपूर्ण सामग्री तथा कागजातहरु इमान्दारीपूर्वक नजिकको प्रहरी कार्यालय वा बबई गाउँपालिकाको कार्यालयमा बुझाइदिनुहुन अनुरोध गरिएको छ ।
साथै, घटनाबारे कुनै जानकारी वा सूचनाहरू भए जानकारी गराइदिन समेत नागरिकमा अनुरोध गरिएकाे छ । सरकारी श्रोत र साधनको संरक्षण गर्नुपर्ने दायित्व भएको भन्दै अन्यथा सिसिटिभी फुटेज र प्रमाणका आधारमा अनुसन्धान अघि बढाइने र दोषी पहिचान गरी कानून अनुसार कारबाही अघि बढाइने गाउँपालिकाले स्पष्ट पारेको छ ।
जेनजी आन्दोलनका क्रममा भदौको २४ गते बबई गाउँपालिकामा तोडफो र आगजनी समेत भएको थियो । 