तौल कसरी घटाउने ?

16.7k Shares

अहिले कोभिड— १९ को महामारी भन्ने हल्लाले गर्दा जुन लकडाउन भईरहेको छ त्यस लकडाउनले अधिकांश मानिसहरुमा तौल बढेको र पेट अत्याधिक ठूलो हुने समस्या भइरहेकोले तौल कसरी घटाउने विषयमा नै केन्द्रित भएको छु । 


 तौल बढी भएको नभएको कसरी थाहा पाउने ?
– मानिसको उचाईलाई सेन्टिमिटरमा नापेर त्यसबाट १०० घटाउँदा जति बाँकी रहन्छ त्यसलाई सामान्य तौल मान्ने मापदण्ड बहुप्रचलित छ । यस अनुसार १५५ सेमी उचाई भएको मानिसको सामान्य तौल १५५–१०० बराबर ५५ केजी हुन्छ तर व्यवहारमा अक्सर यसलाई सहीतौल भन्न नमिल्ने हुन्छ किनभने यसतौलमा रहने मानिसको छाती र कम्मरको अनुपात मिलेको देखिँदैन ।
– बिएमआईको सुत्र अनुसार उचाईलाई मिटरमा नापी आउने अंकको वर्गफलले तौल केजीलाई भाग गर्दा १८.५ देखि २४.९ सम्म आएमा त्यसलाई सामान्य तौल मान्ने गरिन्छ तर २५ बिएमआईमा बस्दा पनि छाती र पेटको नाप नमिल्ने हुनाले (१८.५–  २२ ) सम्म मापदण्ड भित्र परेमा त्यसलाई उसको सामान्य तौल मानिन्छ ।
– प्रकृति प्रेमी समूह निरोगधामले तोकेको मापदण्ड यदि ५ फिटको मानिसको अधिकतम तौल ५० केजी र न्युनतम ४० केजी भएसम्म ठीक तौल हो । ४० भन्दा घटी हुँदा कम तौल र ५० भन्दा बढी भएमा बढी तौल भन्ने बुझिन्छ । त्यसैले एवंरितले ५ फिट १ ईन्चमा साढे दुई केजी बढाउने र  घटिमा साढे दुई केजी केजी घटाएर बुझ्ने ।
त्यस्तै छाती (काखी मुनी) र कम्मर (नाईटो भन्दा माथि) को सहिनाप ४ः३ को रेशियोमा हुनुपर्छ अर्थात् छातीको नाप ३६ ईन्च भए कम्मरको नाप २७ ईन्च हुँदा अनुपात मिलेको भन्ने गरिन्छ । नभए छाती ४ कम्मर पनि ४ हुदासम्म रोगलाग्ने सम्भावना हुदैन तर छाती भन्दा कम्मर (पेट) ठूलो हँुदै गएपछि अनुपात नमिलेको र रोगको आधार तयार हँुदैछ भनेर बुझ्नु पर्छ । 


तौल बढी हुने कारणहरु–
– खाना चाहिने भन्दा बढी खानु ।
– चिल्लोमा तारेभुटेका खाना र मरमसलाको अत्याधिक प्रयोग गर्नु ।
– शारीरिक श्रम, व्यायामको अभाव हुनु ।
– मैदा जस्ता मिहिन चिज, जंकफुडको अत्यधिक सेबन गर्नु हरिया सागपात, फलफुलको सेवन कम गर्नु ।
मोटोपनको मुख्य कारण अपच नै हो । जब तौल बढी हुन्छ अपच भएकै हुन्छ । अपचको अर्थ दिनभरी मल निष्कासन नहुनु पनि हो भने धेरैपटक मल निष्कासन भइरहनु पनि हो । त्यसैले पचेको भनेर बुझ्न बिहान उठ्ने बित्तिकै खाएको २४ घण्टा भित्र  गन्ध नआउने बाधिएको च्यापच्याप नलाग्ने गरी २–३ मिनेटभित्र मल निष्कासन भएमा मात्र कब्जीयत छैन भनेर बुझ्नु पर्छ । त्यसैले कब्जीयत भइरहेसम्म मोटोपन हुन्छ र मोटोपन पनि एक प्रकारको जीर्ण दीघ रोगमा पर्दछ । मोटोपनबाट नै अन्य रोगहरु सुगर, पे्रसर, बाथ, दम, मुुटुरोग जस्ता जीर्ण दीर्घ रोगहरु लाग्ने संभाबना बढि हुन्छ । बास्तबमा मोटोपन नै सबै रोगको घर हो ।

मोटोपन घटाउन दैनिक आहार कस्तो लिने ?
– बिहानको नास्ता नलिने । यदि खाना साह्रै ढिलो हुने हो भने मात्र नास्ता लिने    नास्तामा फलफुल अथवा तरकारीको सुप लिने ।
– यदि खाना करिब ९–१० भित्र नै लिइन्छ भने एकदलिय अन्न (कार्बोहाइट्रेड) जति लिइन्छ त्यसमा २५% कम गर्ने, हरियो तरकारी करिब २००–३०० गा्रम र सलाद करिब १००–१५० ग्राम लिने
– ९–१० भित्र खाना लिइयो भने खाजामा २–३ भित्र सिजनल फलफुल अथवा ताजा तरकारीको सुप अथवा हल्का आहार गर्ने ।
– बेलुकी ७–८ बजे भित्र बिहान जस्तै खाना लिने ।
– यदि दिउँसो टन्न खाजा लिइएको छ भने बेलुकी फलफुल मात्र ताजा तरकारीको सुप लिने ।


मोटोपन भएका मानिसले ध्यान दिनु पर्ने कुराहरु
– भोजनमा चिल्लो तारेभुटेका कुराहरु नखाने ।
– तेल, चिनी, सख्खर, मह, मख्खनको प्रयोग नगर्ने या ज्यादै कम मात्र लिने ।
– छिटो तौल घटाउनु छ भने हप्तामा १ दिन फलाहार वा उपवासमा जान सकिन्छ । यदि कुनैपनि जीर्ण दीर्घ रोग जस्तै सुगर, प्रेसर, दम जस्ता समस्याको औषधी प्रयोग गरिरहेको छ भने उपवासमा जानु हुँदैन ।


पानीको प्रयोग 
– बिहान उठ्ने बित्तिकै १ लिटर मनतातो पानी लिने ।
– खाना र खाजासँग पानी नलिने खानाको १ घण्टा अघिपछि घण्टामा १ गिलासको दरले लिने ।
– जाडोमा दुईदेखि साढेदुई  लिटर, गर्मीमा तिनदेखि साढे तिन लिटर पानी लिनु उत्तम हुन्छ ।
– माछा, मासु, अण्डा दुग्ध पदार्थ र मैदाजन्य आहारको प्रयोग नगर्दा तौल छिटो घट्छ किनभने यी चिज लिने बित्तिकै कब्जीयत कायम नै रहन्छ । शाकाहारी उचित आहार लिनु नै तौल घटाउने राम्रो उपाय हो ।
– प्रोटिनको लागि दाल, गेडागुडी, अंकुरित अन्न, ड्राई नट्सहरु पनि हल्का लिन सकिन्छ । तर तौल बढी छ भने दाल गेडागुडी, अन्नको १० प्रतिशत मात्र लिए पुग्छ । तर ड्र्राई नट्स लिनैपर्ने होइन ।
– धेरै चोटी कुचुकुचु खाँदा अपच हुन्छ ।  त्यसैले एक ठोस आहारको ४–५ घण्टापछि मात्र अर्को ठोस आहार लिनुपर्छ । बिचमा पानी बाहेक अन्य केही खानु हँुदैन ।

मोटोपनमा कस्तो व्यायाम गर्ने ?
– तौल अधिक मानिसहरुले धेरै उफ्रीपाफ्री गर्ने व्यायाम, जम्प गर्नु पर्ने जस्तै डोरी खेल्ने जस्ता व्यायाम नगर्नुपर्छ ।
– अत्याधिक मोटोपन छ भने हल्काहल्का सजिलो शरीरको जोनीहरु संचालन हुने सुक्ष्म अंगव्यायाम, प्राणायाम, ध्यान लाभदायक हुन्छन् । यदि व्यायाम गर्ने अवस्था छैन भने मर्निङवाक गर्नु उत्तम हुन्छ ।
– मोटोपनका मानिसहरु दिउँसो सुत्ने बानी गर्नुहँुदैन । यदि राती निन्द्रा नपुगेको अवस्थामा मात्र दिउँसो सुत्ने गर्नुपर्छ । 
– खाना खाँदा बिस्तारै चपाएर खानुपर्छ खाना साह्रै छिटो खाने, चपाएर नखादा, खानासँग पानी लिने गर्दा पनि अपच भएर तौल बढ्न जान्छ ।

 

विचार कस्तो गर्ने ?
– धेरै खाएर लाभ हँुदैन । शरीर स्वस्थ रहन थोरै र उचित आहार लिए पुग्छ भन्ने कुरा बुझ्नु पर्छ ।
– हामी खानाको लागि बाँच्ने होइन, बाच्नको लागि खाने हो त्यसैले प्राकृतिक भोजन, प्रकृतिले दिएको शाकाहारी आहार नै आफ्नो आहार हो भन्ने कुरा बोध गर्नुपर्दछ । 
मानिसहरु मोटोपन घटाउन अनेकौं उपाय गर्छन् जस्तै पेटी बाँधेर, डायटिङ्ग गरेर ,बिभिन्न जडिबुटी, स्लीम चिया, कागती पानी खाएर, प्रोटीन बढी खाएर मोटोपन घटाउने प्रयास गर्छन् तर ती सबै अप्राकृतिक र अनुचित हुन् । सहि तरीकाले तौल घटाउन प्रकृति प्रेमी समुह निरोगधामले ३ बराबर आहार (एक भाग अन्न, एकभाग हरियो तरकारी र एक भाग काँचो सलाद फलफुल), ४ बराबर आहार (एक भाग अन्न, दुई भाग हरियो तरकारी र एकभाग काँचो सलाद फलफुल) को प्रस्तुत गरेको छ । प्रकृति प्रेमी समुहले संचालन गरेको दिशा बदले दशा सप्रिन्छ भन्ने आवाशिय शिविरमा भरपेट खाएरै ७ दिनमा ७ किलोसम्म तौल घटेको रेकर्ड छ ।
यी नियमहरु पालना गर्दा आहार मिलाएरै, कुनै व्यायाम नगरीकन, भरपेट खाएर नै घरैमा बसीबसी पनि हप्ताको १–२ केजी तौल सजिलैसँग घटाउन सकिन्छ । तौल घट्ने प्रक्रियामा शरीरको पेट पनि बिस्तारै घट्न थाल्छ । आहारको मामिलामा के खाँने, कति मात्रा खाने, कतिपटक खाने, के–के मिसाएर खाने, कसरी खाने भन्ने कुरामा अलमल भईरहनु पर्दैन । विवेक ज्ञानको प्रयोग गर्दै आफ्नै शरीरलाई मापदण्द बनाउँदै खादा सबै कुरा शरीरले नै बताउँन थाल्छ । विवेकज्ञानको प्रयोग गर्दै उचित आहार विहार र विचारको प्रयोग गर्दा बढेको तौल मात्र होईन, सबै खाले तीब्र रोग र जीर्णदीर्ध रोगबाट सजिलै मुक्त हुन सकिन्छ र सदा निरोगी र आनन्दमय जीवन जीउँन सकिन्छ ।
(डंगोल योग तथा उचित आहार विहार विचार प्रशिक्षक हुन्)

सम्बन्धित समाचार