ललितपुर । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायी तथा संघ–संस्थालाई संस्थागत बहाल कर अनिवार्य रूपमा दाखिला गर्न आग्रह गरेको छ।
नेपालको संविधानको अनुसूची ८, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले बहाल कर स्थानीय तहको एकल अधिकार सूचीभित्र परेको भन्दै महानगरपालिकाले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
यसअघि सर्वोच्च अदालतले बहाल कर संकलन गर्न स्थानीय तहलाई कुनै अवरोध नगर्नू भनी नेपाल सरकार, अर्थ मन्त्रालयसहितका नाममा परमादेश जारी गरिसकेको पनि नगरपालिकाले जनाएको छ।
त्यसैले महानगर क्षेत्रभित्रका सबै व्यवसायी तथा संस्थाहरूले महानगरपालिका वा सम्बन्धित वडा कार्यालयमा बहाल कर दाखिला गर्नुपर्ने सूचनामा उल्लेख छ । 