काठमाडौं । प्रहरी विधेयक समयमा नआउने अवस्था आएपछि वर्तमान आईजीपी दीपक थापा भदौ १९ गते अनिवार्य अवकास पाउँदैछन् ।
आईजीपी थापाको अनिवार्य अवकास पछि आईजीपी बन्नको लागि पाँच एआईजीहरु शक्ति केन्द्रको ढोका ढक्ढक्याउनुका साथै बिचौलीयाहरु मार्फत् मोटो रकमको मोलमोलाई गरिरहेको स्रोतले दाबी गरेको छ ।
विद्यमान प्रहरी नियमावलीअनुसार भदौ १८ गते राती आइजीपी थापा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन् । त्यसपछि ३२औं आईजीपी बन्ने दौडमा नेपाल प्रहरीका पाँच एआईजीहरु प्रतिस्पर्धामा छन् । एआइजीहरू चन्द्रकुवेर खापुङ, सिद्धिविक्रम शाह, राजन अधिकारी, मनोज केसी र दानबहादुर कार्की प्रतिस्पर्धामा रहेका छन् । सिआइबी प्रमुखसमेत रहेका एआइजी खापुङ पहिलो नम्बरमा छन् । उनी आफ्नो ब्याचबाट एकल दाबेदार हुन् ।
उनकै ब्याचका कृष्णहरि शर्मा पोखरेल पनि एआइजी पदमै छन् । तर, १८ भदौअघि नै पोखरेल ५६ वर्षे उमेर हदका कारण अवकाश जाने भएपछि खापुङ आइजीपीका लागि एक्ला दावेदार हुन् । खापुङ आइजीपी भएमा दुई महिनाका लागि मात्र अर्थात २७ कात्तिकसम्म मात्र हुनेछ ।
आइजीपी प्रतिस्पर्धामा रहेका सिद्धिविक्रम शाह, राजधन अधिकारी, मनोज केसी र दानबहादुर कार्की रहेका छन् । शाह, अधिकारी र केसी प्रहरी संगठनमा व्यवसायीक प्रहरी अधिकृतको रुपमा चिनिन्छन् भने दानबहादुर कार्की असक्षम प्रहरी अधिकृतको रुपमा परिचित छन् ।
कार्की असक्षम, दुरदर्शिता नभएका संगठन हाँक्न नसक्ने प्रहरी अधिकारी भएकै कारण शाह, अधिकारी र केसीको आईजीपी हुने चर्चा व्यापक छ ।
सरकारले पाँच एआईजीमध्ये एकलाई आगामी १८ भदौपछि आईजीपीमा बढुवा गर्नेछ । त्यस्तै २ महिनाको लागि खापुङ आइजीपी बनेमा २७ कात्तिकपछि ४ एआईजीमध्ये पुनः एकलाई ३३ औं आईजीपी हुनेछन् । शाह २०५३ साल, कार्की, अधिकारी र केसी ०५४ सालमा भर्ना भएका हुन् । शाह २०५३ सालमा भर्ना भएका कारण सिनियर भएकै कारण शाह नै आईजीपी बन्ने सम्भावना बढी छ । जसरी पनि आईजीपी बन्नको लागि बिहान भाले नबास्दै एआईजी कार्की ब्रिफकेश नै बोकेर शक्ति केन्द्र धाउने गरेको उच्च स्रोतले दावी गरेको छ ।