रुपन्देहीमा ४५ प्रतिशत रोपाइँ सम्पन्न

6.3k Shares

बुटवल, असार १५ गते । ‘धानबालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ बुटवलमा धान दिवस तथा रोपाई महोत्सव आयोजना गरिएको छ । 

बुटवल उपमहानगरपालिकाले वडा नम्बर १९ मनोहरापुर तथा बुटवल १५ सेमलारमा २२ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव गरिएको हो । महोत्सवमा बुटवल नगर प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवी अर्याल, स्थानीय वडाका जनप्रतिनिधि, स्थानीय किसान लगायत ठूलो संख्यामा उपस्थिति रहेको थियो । 

त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले आफूहरुले कृषि क्षेत्रको विकासका लागि धेरै काम र योजना अघि बढाएको बताउनुभयो । 

उहाँले किसानलाई उत्पादनमा बृद्धि गर्न बीउमा अनुदान दिनुका साथै मलको व्यवस्था सहज गरेको बताउनुभयो । यसैगरी रुपन्देहीमा धान दिवस तथा रोपाई महोत्सवको अवसरमा विभिन्न स्थानमा कार्यक्रम गरी दिवस मनाइएको छ ।  

किसान महासंघ लुम्बिनी प्रदेशले बुटवल–१९ मा रोपाइँ महोत्सव गरेको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा खेतमा रोपाई गरिएको हो । 

त्यस अवसरमा बोल्दै नेपाली कांग्रेस लुम्बिनीका सभापति पुनले किसानलाई लक्षित अनुदान अझै पनि वास्तविक किसानको हातमा नपुगेको बताउँदै कृषि नीतिमा सुधारको खाँचो रहेको कुरामा जोड दिनुभयो । 

यता रुपन्देहीमा असार १५ गतेसम्म ५५ प्रतिशत खेतमा रोपाई सम्पन्न भएको छ । यो वर्ष रुपन्देहीमा चाँडै बर्षा भएपछि गत बर्ष भन्दा २० प्रतिशत बढी खेतमा धान रोपाई भैसकेको छ । 

गत बर्ष यतिबेला २५ प्रतिशत खेतमा मात्रै धान रोपाई सम्पन्न भएको थियो । कृषि ज्ञान केन्द्र रुपन्देहीका सूचना अधिकारी अनिलकुमार कानु बानियाँले यो बर्ष असार १५ सम्ममा ४५ प्रतिशत खेतमा रोपाइँ भएको जानकारी दिनुभयो । 

रुपन्देहीमा रहेको कूल ८५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ६५ प्रतिशत खेतमा मात्रै धान खेती हुने गरेको छ । जिल्लाको सैनामैना, बुटवल, देवदह, रोहिणी, सियारी, गैडहवा र शुद्धोधन गाउँपालिकामा धेरै खेतमा रोपाइ भएको छ । 

धान दिवसकै अवसरमा रुपन्देहीको सैनामैना नगरपालिका ९ चम्कीपुरमा समेत रोपाई महोत्सव आयोजना गरिएको छ । त्यस अवसरमा बोल्दै नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले कृषि प्रधान मुलुक नेपालले बार्षिक अर्बौंको चामल आयात गर्नुपरेको अवस्थामा कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्नेतर्फ सोच्नुपर्ने बताउनुभयो । 

सम्बन्धित समाचार