सर्यवदना घिमिरे पण्डित
शरीरको अङ्कका रहस्यका विषयमा लेख्नुअघि म एउटा कुरा प्रष्ट भन्न चाहन्छु ।
मसँग शरीर विज्ञानका विषयमा सैद्धान्तिक ज्ञान छैन । तर आफूलाई नियाल्दा
शरीरका अङ्गको अवस्थिति, यिनका काम र सञ्चालन भने अनौठो, नौलो वा रहस्यमय
लागेर लेख्दै जाँदा केही प्याराग्राफ बन्न गएका मात्र हुन् । यहाँ प्रयोग
गरेका शब्दहरूको अर्थ र तालमेल पनि विज्ञका नजरमा नमिल्न सक्छ । अनुभवका
आधारमा लेखिएको हुनाले सबैको एउटै दृष्टिकोण या मत हुन्छ भन्ने पनि
छैन । शरीरमा रहेका अङ्गका नाम र काम धेरै होलान् । नाम त भाषाका दृष्टिले
भिन्न हुन सक्छन् । तर यहाँ नेपाली भाषामा भनिने केही अङ्गलाई लिएको छु ।
एकैछिन आँखा बन्द गरेर शरीरलाई हेरौँ त । शरीरका अङ्गहरू आ–आफ्नो
काममा सबै सधैँ दत्तचित्त छन् । कतै प्रतिस्पर्धा र कतै निष्क्रियता छैन । कुनै अङ्ग
देखिने छन्, कुनै नदेखिने । कुनै लामा, कुनै छोटा, कतै रौँ भएको, कतै
खाली, कतै नङ्ग्रा त कतै दाह्रा छन् । जहाँ जत्रा र जस्ता भए पनि सबै अङ्ग एउटै
झुण्डमा बाँधिएका छन् । ब्रह्माण्डमा अनेक ग्रह, तारा, नक्षत्रको झुण्डजस्तै
। त्यसैले शरीरलाई पनि ब्रह्माण्ड भनिन्छ । ब्रह्माण्डका पिण्डहरू आ–आफ्नै
कक्षमा निरन्तर घुमिरहेजस्तै हाम्रा अङ्ग पनि सँगै हिँड्छन्, सँगै बस्छन् । कुनै
समयमा कोही अङ्ग सुत्छन्, कोही कहिल्यै विश्राम गर्दैनन् ।
यसो हेर्दा शरीर चलाउन जटिलजस्तो लाग्छ । तर यो निर्माण गर्ने
सृष्टिकर्तालाई कहिल्यै द्विविधा भएझैँ लाग्दैन । मान्छेले बनाएको
परिवार, समाज तथा संगठनमा भने अस्वस्थ, द्वेषग्राही तथा स्वार्थी प्रकृतिको
प्रतिस्पर्धा पनि देखिन्छ । यसैगरी आमाबाबुसँग छोराछोरीले र गुरुसँग शिष्यले
प्रतिस्पर्धा गर्छन् । आफ्ना सन्तान आफूभन्दा प्रतिभाशाली बनून् भन्ने
चाहना सबै आमाबाबुलाई हुन्छ । त्यस्तै गुरु पनि आफ्नो ज्ञानलाई भरपुर
मौलाउने र अझै उच्च स्थानमा पुर्याउने उत्कृष्ट शिष्य बनोस् भन्ने चाहन्छन् ।
आमाबाबु र गुरुसँग प्रतिस्पर्धा गर्नु भनेको खोलाले समुन्द्रमा नजाने अठोट
गर्नुजस्तै हो । खोला उकालो जान सक्दैन । स्थिर भएर नबहेमा अर्थात् जमेमा
दुषित बन्छ । यति भनिरहँदा आमाबाबु भन्दा छोराछोरी र गुरुभन्दा शिष्य
प्रतिभाशाली हुँदैनन् भन्न खोजिएको हैन । सन्तान वा शिष्यमा आफूमा
मौलाएको प्रतिभाले आमाबाबु अथवा गुरुलाई प्रतिस्पर्धाजस्तो नभई मनमा
गदगद र स्वसम्मान महसुस होस् भन्ने आशय मात्र हो ।
हाम्रो शरीरमा विभिन्न अङ्गहरू छरिएर बसेका भए पनि ज्ञानेन्द्रियहरू
नजिक–नजिकै छन् । ज्ञानेन्द्रियका माध्यमबाट शरीर, मन र भावनाले बाह्य
सूचनाबाट सन्देश संकलन गर्छन् । स्पर्शको ज्ञान दिने ज्ञानेन्द्रियले पूरै शरीर
ढाकेको छ । दृश्यको जिम्मा लिएको आँखा, श्रवणको ठेक्का लिएको कान र
स्वादको जिब्रोले आफूले सूचना लिए पनि एक्लै निर्णय गर्दैनन् । यही
शरीरको अभौतिक स्थानमा पाँचै इन्द्रिय बैठक बस्छन् । अनि यो सूचना यही
हो भनेर अनुभव गराउँछन् । यिनको मेल र काम देख्दा पनि अद्भुत लाग्छ ।
यसबाट व्यवहारिक जीवनमा लागु गर्ने कुरा सोचौँ त ।
सबै इन्द्रिय र कर्मेन्द्रियहरू कर्मयोगी छन् । आफूलाई के फाइदा,
के बेफाइदा त्यसको वास्ता गर्दैनन् । स्वाद आफूले लिन पाउने हैन,
तिमीलाई किन खुवाउने भनेर हातले जिब्रोलाई धम्की दिँदैन । हामीले
खाएको वस्तुबाट अर्को कुनै यन्त्रले अमृत बनाइदिएर आफूलाई तागत दिएकै
छ भन्ने कुरा हातलाई थाहा छ । आँखालाई केही देख्नको लागि कतै जान मन
लाग्दा भने गोडाले जान भने के गरिन्थ्यो होला ?
हामी यो ग¥यौँ, त्यो ग¥यौँ भन्छौँ । तर एउटा सास पनि आफ्नो चाहनाले
लिन र नलिन सक्दैनौँ । सास नफेरे प्राणी मर्छ । सुत्दा पनि मस्तिष्क चल्नै पर्छ
। एक क्षण पनि सिस्टम बन्द हुँदैन भन्ने कुरा शरीरको सिर्जनाकारलाई
ज्ञात छ । जसले प्राणी सिर्जना ग¥यो, उसैले जिम्मा लियो प्राण बचाउनको लागि
। जाग्रत र निन्द्रामा पनि मन, मस्तिष्क र शरीरको लागि ऊर्जा भरिदिने जिम्मा
सर्जकले लिएकै छ । मैले तिमीलाई बनाएँ, संचालन अब तिमी आफैँ गर
भनेको भए सकिन्थ्यो होला ? मस्त निद्रामा कुनै शक्तिले सृष्टिक्रममै आएर बलवान
बनाएर जान्छ । बिहान ब्युँझिने बित्तिकै हामीले धन्यवाद दिने, अनुभव
व्यक्त गर्ने काम गरेका छौँ ? छौँ भने ठीक छ । छैनौँ भने अब सुरु
गरौँ ।
माथि थोरै चर्चा शरीरको बाहिर देखिने वा नदेखिने अङ्गका बारेमा ग¥यौँ ।
अझै महत्वपूर्ण हाम्रा जनेन्द्रिय र यौनाङ्ग छन् । एउटा सुष्म बीज ग्रहण
गरेर, केवल नौ महिना आफूसँग राखेर पूर्ण मनुष्य बनाई धर्तीमा पठाउने
पाठेघरप्रति हामी कति सद्भावले भरिन्छौँ ? मनुष्य हुने बीज बाबु मार्फत
प्राप्त हुन्छ भने त्यसलाई संरक्षण गर्ने पाठेघर आमासँग छ । एउटा भौतिक
बीजमा अभौतिक आत्मा प्रवेश गरेर मान्छे बन्छ । पूर्ण मान्छे बनेर यस
धर्तीमा आउन प्रवेशद्वारको रूपमा रहेको यौनाङ्गले कोसँग प्रतिस्पर्धा गर्छ ?
यी अङ्गले प्रशंसा खोजेका भए कति धन्यवादले पग्लथ्यो होला ? धन्यवाद,
प्रशंसा र अनुभव त परैको कुरा, तिनको योगदानको कतै चर्चा नै छैन । आफू
यसरी गुमनाम रहे पनि, वास्तविकता बदलिएको छ र ?
त्यति मात्र हो र ? हाम्रो शरीरमा रहेको प्राण बचाउने हावा, पानी, घाम मानिस
जता गए पनि उपलब्ध छ । रगतलाई क्षणभरमा गोडाको औँलाको टुप्पो र
तालुको माथिसम्म पुर्याउनुपर्छ भन्ने थाहा छ । यसरी दौडने मार्गमा असहज
भएमा संकेत गर्छ । त्यसलाई सुधार गर्नुको साटो हामी दवाउन दवाइको प्रयोग
गर्छौँ । खानपान र व्यवहारमा सुधार भन्दा औषधीको सेवन गरिने चलन यही त
हो । यी र यस्ता उदाहरणहरू अनगिन्ति छन् ।
सबै अङ्गका काम भनेको यही शरीरभित्र रहेको प्राण बचाउने हो । प्रायः
प्राणी जन्मदा स्वस्थ हुन्छ । सानो छँदा आमाबाबुले र ठूलो भएपछि स्वयंले
स्वास्थ्य बारे जानकारी लिइरहेको हुन्छ । तर पनि शरीरको हित र अहित जानेर पनि
वेवास्ता गर्दै जान्छ । मान्छे आफ्नै असजगताले अस्वस्थ बन्दै जान्छ । जति
मात्रामा, जतिखेरकै बेला मुखबाट पेटमा पठाए पनि शरीरको तन्त्र अर्थात् पद्वतिले
अमृत बनाउन खोजेकै हुन्छ । शरीरका लागि अनावश्यक कुरा हटाउन तथा हितकारी
तत्वलाई ठाउँ खाली गरिदिन खटेकै छन् अङ्गहरू ।
आफूलाई आफ्नो माया लाग्छ, स्वस्थ रहन मन छ भने खानपान, आचार, विचार र
व्यवहारमा सुधार गरौँ । दैनिक योग, ध्यान, व्यायाम, प्राणायाम गरौँ ।
आफूलाई र अरूलाई सृष्टि गर्ने सर्जक एउटै हो भन्ने सम्झौँ ।
स्वेच्छाचारी हैन, संस्कारी र परोपकारी बनौँ । अहङ्कारी हैन, सदाचारी र
सकारात्मक बनौँ । सके अरूको भलो गरौँ, नसके आफ्नो पनि
कहिल्यै नभत्काओँ ।
प्रशिक्षक, जीवन विज्ञान